February 24, 2024
आइपीएम फ्लोअप

अधिकांश पत्रकार त्रिपालको सहारामा बस्दै

प्रतिज्ञा न्यौपाने

काठमाडौँ, शनिबार, १६ मङ्सिर २०८० । आधी रात हुन झण्डै १५ मिनेट बाँकी थियो । कात्तिक महिनाको दिन उकालो लाग्दै थिए । त्यसबेला शान्त थियो जाजरकोट । कोही भर्खर सपनामा थिए । कोही भर्खर भोलिको विपना सोच्दै कल्पनाको आधा निन्द्रामा थिए । त्यही जीवनशैलीमा थिए जाजरकोटका सौर्यकर्मी अर्जुन विष्ट । त्यो दिन न कतै काग कराएर पूर्व संकेत ग¥यो । न कतै सर्प निस्केर संकेत ग¥यो । तर राति शान्त जाजरकोटमा भूकम्पले हल्लाउँदा त्यो जीवनमा अनेक तरंग ल्यायो । अचानक त्यो आयो । अचानक धेरैको खुसी लुट्यो ।

भौतिक कुरा त नास हुन्छन्, फेरि प्राप्त हुन्छन् । तर त्यो दिनको भूकम्पले धेरैसँग जोडिएका मुटुहरू चुँडेर लग्यो । जो अब कहिल्यै फिर्ता हँुदैनन् । धेरैको हाँसो ओठबाट कहिल्यै फिर्ता नहुने गरी लुटेर लग्यो । जाजारकोटका पत्रकारहरूका घरमा भएका ल्यापटप र क्यामरामा भूकम्पले धावा बोलिसकेको थियो । भूकम्पको झड्कासँगै उनीहरूलाई सूचनाको खेतीमा लाग्नुपर्ने थियो ।

यस्तो मानव जीवनमा आउने दुर्भाग्यपूर्ण दुर्घटना हो । भूकम्प त्यही दैवी विपत्ति हो । यसको आगमन एक्कासि हुन्छ र मानव जीवन र उसले आर्जन गरेको भौतिक सम्पत्तिलाई नष्ट गरेर जान्छ । त्यो सँगै खुसी लुट्छ, मान्छेमा हुने आँसुको दह पुरै रित्याउँछ । आँखाका डिलमा आँसु हाम फाल्न खोज्छन् । तर भूकम्पपछि तिनको मुहान सुकिसकेको हुन्छ । केवल घुक्कघुक्कको आवाजले यसको तिर्सना मेट्छ ।

गत कात्तिक १७ गते जाजरकोट जिल्लाको रामीडाँडा स्थिर थिएन । त्यो रोटेपिङजस्तो मच्चिइरह्यो । एकपटक मात्र मच्चिएन त्यसले पटकपटक झम्टिइह्यो । हप्ताँै त्यसले सानो ठुलो झड्कामा झम्टिइरह्यो ।

रामीडाँडा केन्द्रबिन्दु भएको विनासकारी भूकम्पले घर मात्र भत्काएन । मान्छेको खुसी भत्कायो । मान्छेको खुसी लुट्यो । हाँसो खोस्यो । कसैको सिन्दुर खोस्यो, कसैको काख खोस्यो, कसैको साथ खोस्यो । पीडितहरूको कहिल्यै पूरा नहुने अमनचैन खोस्यो । जो सधँै अब रित्तो हुनेछ ।

आफ्नै आँखाअगाडि भत्केको घर पुनः ठडिएला, धनको क्षति पनि पूरा होला । पुरिएको धन फेरि पूर्ति हुन सक्ला । तर एउटा आमाबाट खोसिएको छोरो फेरि काखमा फिर्ता हुने छैन । अँगालोबाट फुत्काएर लगेको श्रीमान वा श्रीमती फेरि त्योभित्र पस्न पाउने छैनन् । भूकम्पको निर्दयी विशेषता नै यही हो । परी आउने जो कसैले पनि यसलाई भोग्नुको विकल्प छैन । यस्तै घाउ दियो त्यो भूकम्पले ।

मानवीय र भौतिक क्षति ग¥यो भूकम्पले । जाजरकोट र रुकुमपश्चिमको हृदयविदारक परिदृश्य भुल्ने कुनै औषधि नै छैन । जो कहिल्यै निको नहुने घाउ भएको छ । त्यो राति बेगसरी आएको भूकम्पले उज्यालो हुन नपाउँदै धेरैका आँखाबाट आँसु रित्याइसकेको थियो । क्षणभरमै सबैको आँखामा बगेको थियो आँसुको महाकाली । मानव बस्तीमा हमला गर्न त्यो दानव के थियो, किन सखाप भयो एकैछिनमा त्यो वस्ती ?

बिहान हेर्दा घरहरू कुनै उभिएका थिएनन् । सबै लमतन्न सुतेजस्ता देखिन्थे । सधैँ जीवित रहेका सयौं पत्रकारहरूको पनि यही थियो अवस्था उनीहरू बसेको धेरै घरहरू पनि ठाडा थिएनन् । आफैँ बसेको घरको समाचार आफँै लेख्न बाध्य थिए उनीहरू । आफैँले मुसारेका अनुहारहरूलाई यो धर्तीबाट बिदाइ गर्न विवश थिए उनीहरू ।

सबैलाई सूचना दिएर सचेत पार्ने पत्रकार । अहिले आफैँ पीडित बनेर सूचना प्रवाह गरिरहेका छन् । जाजरकोट र रुकुम पश्चिममा ५६ जना पत्रकार घरबारविहीन बनेका छन् । उनीहरूका लागि त्रिपाल नै अहिले महलजस्तो बनेको छ । यसबेला पालमुनि बसेर पत्रकारले रिपोर्टिङ गरिरहेका छन् । रेडियोको स्टेसन यसबेला रुखको फेदमा टाँगिएको पाल भएको छ । अनलाइनहरू अस्थायी प्रसारण केन्द्र र पालमुनिबाटै सञ्चालन भइरहेका छन् । स्थानीय सञ्चार माध्यमहरूमा भौतिक क्षति भएको छ ।

रुकुम पश्चिमका प्रतिनिधि सौर्यकर्मी अर्जुन बिष्ट भूकम्प प्रभावित हुन् । भूकम्पपछि उनी एउटा क्यामरा र ल्यापटप बोकेर गाँउतिरै छन् । जहाँ पीडितको साक्षी बनेका छन् । उनी जहाँ जो पीडित भेटछन्, त्यही बस्छन् । घुँडामाथि ल्यापटप राख्छन् र उनीहरूको कथा त्यही लेख्छन् । खासमा उनी आफैँ समाचार बनेका संवाददाता हुन् । तर, आफ्नो आँखामा बिझेको कसिंगर आफूले निकाल्न मिल्दैन भनेर उनी अरूको दुःखको समाचार लेख्नमा व्यस्त छन् ।

आफ्नो पीडा लुकाएर जिल्लाका गाउँगाउँमा नागरिकको पीडा खोज्दै रिपोर्टिङमा छन् । यस जिल्लाका अधिकांश पत्रकारहरू त्रिपालको सहारामा बस्दै आएका छन् । उनीहरू आफ्नो पीडा लुकाएर समाचारका लागि प्रभावित क्षेत्रमा छन् । घर पूर्ण क्षति हँुदा पालको सहारामा बस्दै आएका छन् । आफ्नो भएको क्षतिको पीडा भुलेर उनी अरूको पीडा देखाउँदै आएका छन् । भूकम्प गएको मध्यरातदेखि नै भूकम्प प्रभावितहरूको उद्धार, खोजमा खटिएर रिपोर्टिङ गर्दै आएका छन् । बिष्ट भूकम्पमा रिपोर्टिङ अनुभव यसरी सुनाउँछन्, ‘भूकम्पबाट भत्केको घरमा बुढा आमाबुबालाई एक्लै छोडेर मध्यरातमा रिपोर्टिङमा निस्किएँ ।’

उनी अनुभव सुनाउँछन्, ‘जब फिल्डमा पुगेँ, भूकम्प प्रभावितको आँसु देख्दा मैलै मेरो मनलाई समेत बिर्सेको थिएँ । त्यो बेला मेरो मन ढुंगाजस्तै कडा बनेको थियो । तर थाहै नपाई पीडितको व्यथा सुन्दा नौनीजस्तै पग्लिएछ ।’ उनी भन्छन्, ‘त्यसैले क्यामेरामा कैद गर्दा आफ्नै आँखाबाट आँसु झरेको पत्तो पाइनँ । एक हातले क्यामरा समातें । क्यामराको फिताले आँसु पुछेँ । अनि आफ्नो कर्तव्य सम्झेँ र काममा लागेँ ।’

उनले आफ्नो अनुभव सुनाए – मध्यरातमै गाउँ नै शोकमा डुब्यो, मेरै गाउँका तीन जनालाई आँखा अगाडि गुमाउनुप¥यो । धेरै जना घाइते भए । अधिकांशको घर भत्कियो । मेरो पनि घर भत्कियो । आफन्तले तेरो घर पनि ढल्यो । घरमा अरू केही क्षति भयो कि ? भनेको अलिअलि सुन्छु । शोकमा परेका आफन्त छोडेर रिपोर्टिङमा निस्किएको आठ दिन भएछ । घाइतेको उद्धार, खोजदेखि राहत वितरण हुँदासम्म फिल्डमै खटिएँ । कसरी समाचार लेखौँ, कहाँबाट सुरु गरौँ ? कुनै आइडिया थिएन । मैदानमा पुगेर चौबाटोमा अलमलिएको यात्रीजस्तो टोलाएर धेरै बेर भत्किएको घरका भाग्नावशेषमा आँखा डुलाउँथेँ ।

‘जुन दृश्यले भावुक बनाइसकेको थियो । कन्टेन्ट छ । स्रोत छ । समाचार लेख्ने हिम्मत छैन । केही समयपछि लासहरूको लाइन छोडेर फर्कियौँ । नागरिकको पीडा खोज्दै रिपोर्टिङमा निस्कँदा जाजरकोट र रुकुमपश्चिमको हृदयविदारक दृश्यले क्षणभरमै आँखामा आँसुको बाढी आयो  । एकातिर बस्ने घर छैन । अर्कोतिर सामाजिक उतरदायित्वसहित पत्रकारिताको धर्म निभाउनुपर्ने पत्रकारहरूमा चुनौती र जिम्मेवारी थपिएको छ’, बिष्टले यसरी अनुभव सुनाए ।

उनले हिम्मत अगाडि सार्दै भने – विपतमा सञ्चारकर्मीको फ्रन्टलाइनमा रहेर काम गर्ने धर्म हो । आखिर हामी पनि त मान्छे नै हौँ । हामीमा पनि मानवीय संवेदना हुन्छ । तर सबै दृष्य देखेपछि कतिबेला त घुँडा टेकेर सबैले सुन्ने गरी डाँको छोडेर रुनुजस्तो लाग्थ्यो । तर त्यो हाम्रो भावनालाई पछाडिबाट जिम्मेवारीले थपथपाइरहेको हुन्थ्यो । त्यसैले त्यो गर्न सकेन । त्यसलाई मनभित्रै बाँध बाधेर थुनियो ।

उनको अनुभव छ – आमनागरिक सही सूचनाको पहुँचबाहिर हुने रिपोर्टिङमा खटिएका बिष्ट बताउँछन्, पत्रकारको हैसियतले भूकम्प पीडितको अवस्थालाई बुझ्ने कोशिस गर्दा होस् वा भूकम्पीडितसँग भेट्दा होस्, त्यसमा मैले थुप्रै अनुभव र पीडाहरू साट्न भ्याएँ ।

आफ्नो लुकाएर त्यहि पीडा अरूबाट सुन्दा मन नरोएको पनि होइन । आफ्नो ढलेको घर सम्झेर भत्किएको मनले अरूको पिडा खोज्दा आफ्नै पीडा भुलिँदो रहेछ । बिष्ट भन्छन्, ‘चिन्ता र डरलाई पन्छाएर रिपोर्टिङमा हिँड्ने अठोट गरेँ । तर जाने काम सोचेजस्तो सहज भने थिएन । स्थानीय प्रशासन तथा सुरक्षाकर्मी पूरै तैनाथ थिए । रुकुमका बासिन्दा घरभित्र थुनिएका थिए । सारा आठबिसकोट क्षेत्र चकमन्न थियो । घरपालुवा जनावरहरू च्यापिँदा, घरमै थुनिँदा ड्वाँ–ड्वाँ कराइरहेको आवाज सुन्न सकिन्थ्यो ।’

उनी आफूले देखेको दृष्य यसरी बताउँछन्, ‘आफन्त गुमाएका घरमा रुवाबासी चलेको थियो । अति प्रभावित क्षेत्रमा मान्छेहरूको लास देख्दा हातै काप्न थाले, मनले केही सोच्नै सकेन । भूकम्प गएको भोलिपल्ट पहिलोपटक आठबिसकोट स्थलगत रिपोर्टिङ पछि लेखेको समाचार धेरै सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारण÷प्रकाशन गरेको पाएर आफूले खाएको हण्डर बिर्सें ।’

भूकम्प गएको मध्य रातिदेखि नै घर छोडेर रिपोर्टिङमा निस्केका बिष्ट आठ दिनपछि ढलेको घर फर्किएको सुनाउँछन् । जाजरकोट र रुकुममा गाउँगाउँमा पुगेर पीडा बटुल्दा आफ्नो पीडा भुलिसकेको उनको अनुभव छ भूकम्पले बल्लबल्ल बाँचियो, तर अब चिसोले सताएको छ । म भन्दा पनि वृद्धवृद्धा र महिला तथा बालबालिकालाई बाँच्न मुस्किल परेको अवस्था छ । उनले भने, ‘तत्कालै अस्थायी आवास निर्माण गरिएन भने थप मानवीय क्षति बेहोर्नुपर्ने देखिन्छ । आफैँ विपतमा परेका पत्रकारले विपत रिपोर्टिङ गरेर आमनागरिकालाई दिएको सूचनाले साच्चिकै राहत पु¥याएको छ ।’

उनी भन्छन् – सञ्चारकर्मीको कर्तव्यलाई आपत्विपत्मा नै हो देखाउने भूकम्प प्रभावित क्षेत्रका पत्रकारसहित आमनागरिकलाई सुरक्षित अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्छ । राज्य नपुग्ने ठाउँमा अरू कुनै निकाय पुग्छ भन्ने त त्यो मिडिया हो । त्यहाँका भत्किएर ढलेको घर, अनि भत्किएको मन अझै बन्ने सकेको छैन । त्यसको कुनै निश्चितता नै छैन । त्यसैले भूकम्पपीडितको व्यथा र कथामाथि सरकारले खेलवाड गर्नु हुँदैन । पुनर्निर्माणको कार्यलाई द्रुतगतिमा सरकारले अगाडि बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *