जुम्ला, बिहिबार, ११ बैशाख २०७७ । हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गर्नु भएको छ । चन्दननाथ नगरपालिका–४ पीपलधारा मालाभिडका टोपबहादुर बुढाले सरकारले चैतको घरभाडा नलिन आह्वान गरेपछि आफूले पनि घरभाडा नलिने बताउनु भयो ।

गत चैतको मासिक घरभाडा रु २० हजारसहित पानी र बिजुलीको महसुल पनि नलिने निर्णय गरिएको उहाँकी पत्नी सीताले जानकारी दिनुभयो । यसअघि चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले दुई घरको मासिक रु ३१ हजार ५ सय र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले रु २१ हजार घरभाडा नलिने घोषणा गर्नु भएको थियो ।

त्यसैगरी, उच्च अदालत सुर्खेत, जुम्ला इजलासले म्याद नाघेको नुन वितरण नगर्न र गर्न नलगाउन आदेश गरेको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि हिमा गाउँपालिकाले राहत वितरण गर्दा म्याद नाघेको नुन वितरण गरेको भन्दै सोही गाउँपालिका –१ का प्रतिभा शाही र नेत्रबहादुर शाहीले यही वैशाख ७ गते रिट निवेदन दायर गरेपछि अदालतले वैशाख ९ गते सो आदेश गरेको हो ।

मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दका अनुसार म्याद नाघेको नुनका विषयमा गाउँपालिका र गाउँ कार्यपालिकाका नाममा रिट दायर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here