ललितपुर, मंगलबार, ९ भाद्र २०७७ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनु भयो । ‘अबको एक हप्तादेखि १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ ।

यदि यस दिनसम्ममा पनि रातो मच्छिन्द्रनाथ रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पुर्याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभसाइत पनि पाउन मुस्किल हुनेछ’,उहाँले भन्नुभयो ।

आउँदो असोज २ गतेदेखि मलमास छ, मलमासमा रथजात्रा गर्न हुँदैन, आउँदो कात्तिक महिनाको २ गतेबाट नौरथा अनि १० गते विजयादशमी छ, विजयादशमीपछि बाँकी रहेको छोटो समय र आउँदो मङ्सिर महिनामा रातो मच्छिन्द्रनाथलाई पुनः बुङ्मतीबाट पाटनमा ल्याउनुपर्ने चलन रहेकाले रथयात्रालाई तत्काल अघि बढाउनुपर्ने उहाँको भनाइ छ । आइतबार मात्र सो विषयमा राष्ट्रपतिका साथै प्रधानमन्त्रीसँग पनि भेटेर कुरा राखेको जोशीले जानकारी दिनुभयो ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । यस वर्ष कोभिड–१९ का कारण लामो समय मच्छिन्द्रनाथ पुल्चोकमै राखिएको छ । रथलाई पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, गाःबहालबाट मङ्गलबजार पुर्‍याएर दरबार पूजा, मङ्गलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबलि दिनु नै पर्ने चलन रहेका हुँदा यी काममा समेत केही समय खर्च हुनेछ ।

यस वर्ष कोभिड महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न केही सशस्त्र प्रहरी, नेपाली सेना, जात्रासँग सम्बन्धित ६० देखि ७० व्यक्ति, रथको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर भए पनि नढल्काइकन रथजात्रा गर्नुपर्ने समय भएको जोशीको मत छ । ‘राज्यले यसै किसिमको योजना बनाएर अघि बढ्दा छिट्टै रथयात्राको समस्या समाधान हुने थियो ।’ यस विषयमा कुरा गर्न गुठी संस्थान शाखा कार्यालय जाँदा कसैसँग पनि भेट नभएको जोशीले गुनासो गर्नुभयो ।

रथजात्रालाई कहिलेबाट अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुरलगायतका १९ जातीय समूह मिलेर केही निष्कर्ष निकाल्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ । उहाँले दशैँअघिसम्म पाटनमा रथयात्राका साथै भोटोजात्रा सम्पन्न गर्नुपर्ने भए पनि बढ्दो महामारीका कारण हाललाई भोटोजात्राभन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको बताउनु भयो ।

आफूहरु जात्रासँग सम्बन्धित एक सहयोगी संस्था मात्र रहेकाले नेपाल सरकारको निर्णयपछि सो काममा अघि बढ्ने भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनु भयो । मच्छिन्द्रनाथ रथयात्रा कहिले गरिन्छ भन्ने निर्णय यही भदौ १५ गतेपछि हुने भएको पुजारी पूर्णराज शाक्यले बताउनु भयो ।

वि सं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । गत वर्ष चैत २७ गते करुणामयलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।

लोकेश्वरको मुख पश्चिमपट्टि फर्काई चाँदीको गाग्रीमा पाँच तीर्थको पानी, गाईको दूध, विभिन्न प्रकारका फूल मिसाएर गुभाजुले विभिन्न मन्त्रद्वारा पाठ गरेर महास्नान गरिएको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनु भयो । ‘दशैँअघिसम्म पाटनमा रातो मच्छिन्द्रनाथको रथजात्रा र भोटो जात्रा दुवै सम्पन्न गरिएन भने बुँगद्यःलाई भक्तपुरवासीले आफ्नो हक जताएर सधैँभरिका लागि त्यहाँ लान पाउँछन् । मच्छिन्द्रनाथलाई यदि भक्तपुर लगेमा सधैँभरि यस जात्रा भक्तपुर शहरमा गर्नुपर्ने हुन्छ । भक्तपुरमा पनि लोकेश्वरलाई राख्ने मन्दिर बनेको छ ।’ उहाँले भन्नुभयो ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यस जात्रा हेर्न काठमाडौँ उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । यस वर्ष जावलाखेलवासीले समेत रथ र भोटोजात्रा हेर्न पाउँछन् कि पाउँदैनन् भन्ने अन्योल छ ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्ने गरिन्छ । हिन्दूहरु यिनलाई भर्खरै उदाउन लागेको सूर्यनारायणका रुपमा लिन्छन् ।

रक्तावलोकितेश्वर लोकनाथको वर्ण अरुणावर्ण छ, दुई ठूलाठूला आँखा छन्, दबिएको नाक छ, उचाइ चार फिट लामो छ, पवित्र माटो (मृत्तिका, तेराकोटा) बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ ।

घाँटीमा कर्कटनागको रत्नमाला, हातमा चुरा, बाला र खुट्टामा कल्ली सुशोभित छन् । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तराभिमुख गरी राखिने भएको मुनिन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here