Monday, March 1, 2021
More

    अभिलेखालयका ग्रन्थ अनलाइनबाटै पढ्न सकिने प्रविधि विकास गरिँदै

    काठमाडौँ, सोमबार, १९ माघ २०७७ । राष्ट्रिय अभिलेखालयमा सङ्ग्रह गरिएका ग्रन्थ घरमै बसेर अनलाइनबाट हेर्न सकिने गरी प्रविधि विकास भइरहेको छ ।

    अभिलेखालयले अनलाइन सेवा दिन डिजिटल कपि बनाइरहेको निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले आइतबार आयोजित पाण्डुलिपि सम्पादन प्रक्रिया विषयक अन्तरक्रियामा जानकारी दिनुभयो । यो सेवा शुरु भएपछि अध्ययन अनुसन्धान गर्न चाहनेले प्राचीन ग्रन्थ घरमै बसेर अनलाइनबाट खरीद गरी पढ्न सक्नेछन् ।

    अनलाइनबाट शुल्क तिर्ने प्रक्रिया निश्चित नभएकाले अनलाइन सेवा शुरु गर्न ढिलाइ भएको उहाँले बताउनुभयो । अभिलेखालयमा जनशक्तिको समेत कमी रहेकाले पनि काममा केही ढिलाइ भएको छ । सरकारी कार्यालयले अनलाइनबाट शुल्क लिने विधि निश्चित भएपछि अनलाइन सेवा शुरु भइहाल्ने जनाइएको छ ।

    अभिलेखालयमा रहेका करीब ३५ हजार हस्तलिखित ग्रन्थमध्ये ४२ वटाको सम्पादन गरेर प्रकाशन गरिएको छ । ३० हजार ग्रन्थ माइक्रोफिल्म प्रविधिमार्फत् सुरक्षित गरिएको छ । पाण्डुलिपि सम्पादन प्रक्रियाका विषयमा आज भएको अन्तरक्रियामा वाल्मीकि विद्यापीठका उपप्राध्यापक डा माधवप्रसाद लामिछानेले प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसमाथि विद्यापीठकै उपप्राध्यापक उपेन्द्र भट्टराईले टिप्पणी गर्नुभयो । पाण्डुलिपि सम्पादन प्रक्रियालाई आधुनिकीकरण गरिनुपर्नेमा उहाँहरुको जोड थियो ।

    अभिलेखालयकी अनुसन्धान अधिकृत मनिता न्यौपानेले हाल भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । अभिलेखालयले गत महिनादेखि शुरु गरेको विषय केन्द्रित अन्तरक्रिया जारी रहने जनाइएको छ । गत महिना भोट भाषाका विषयमा कार्यक्रम गरिएको थियो । फागुन १७ गते शिलालेखका बारेमा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको प्रस्तुतीकरणको कार्यक्रम रहेको अभिलेखालयले जनाएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here