ललितपुर, शनिबार, २० भाद्र २०७७ । जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत गीता केसीको लेलेस्थित जंगलमा शव फेला परेको छ ।

अल्का अस्पतालकी ३९ वर्षीय कर्मचारी केसी चार दिनदेखि हराइरहेकी थिइन् । उनको हिजो साँझ गोदावरी नगरपालिका १० लेलेस्थित सामुदायिक वनमा शव फेला परेको हो । पोष्टमार्टमका लागि उनको शव पाटन अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा केसीको हत्या भएको प्रहरी अनुमान छ । हत्या आशंकामा केसीको भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

चार दिनअघि केसीको परिवारले भैसेपाटीस्थित प्रहरी कार्यालयमा खोजतलासको लागि उजुरी दिएका थिए । प्रहरीले खोजबिन गरिरहेकै बेला शुक्रबार साँझ सडकबाट केही भित्र जंगलमा शव फेला परेको थिए ।

अस्पताल जाने भन्दै निर्मलसँगै गीता घरबाट हिडेका थिए । बेलुका अबेरसम्म पनि घर नपुगेपछि परिवारले अस्पतालमा सोधखोज गरेका थिए । उनी अस्पताल नआएको जानकारी पाएलगत्तै परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

निर्मल सवारी चालक हुन् । परिवारले खोजतलासका लागि दिएको उजुरीसँगै निर्मललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here