Friday, February 26, 2021
More

    असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

    काठमाडौं, बिहिबार, ६ फागुन २०७७ । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ ।

    संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो वर्षको शैक्षिक सत्र दुई महिनापछि धकेल्ने निर्णय गरेका छौं ’ उहाँले भन्नुभयो ।

    संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने वाक्यांश उल्लेख छ ।

    एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ । त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समाबेश हुन्छ ।

    शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो । तर, असोजबाटै वैकल्पिक सिकाइ प्रभावकारी रुपमा लागु हुन सकेन । सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुले माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु गरेका छन् ।

    माघबाट मात्रै पठनपाठन सुरु गरेका विद्यालयहरुको व्यवस्थापन र शिक्षकहरुमा जेठमा शैक्षिक सत्र पूरा गर्नका लागि महत्वपूर्ण जिम्मेवारी रहेको नेपाल महासंघका अध्यक्ष सुप्रभात भन्डारी बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘मंसिर तथा माघबाट मात्रै पढाउन सुरु गरेका विद्यालयका व्यवस्थापन र शिक्षकहरुमा जेठभित्रै सकाउने जिम्मेवारी आएको छ ।

    अब सबै सार्वजनिक विदा कटौती गरेर पढाउनुपर्ने अवस्था आएको छ ।’ यो वर्ष पाठ्यक्रम संकुचन गरी ७० प्रतिशत बनाइएको छ ।

    जेठमा नै शैक्षिक सत्र सक्ने दबाब उपत्यकाका विद्यालयहरुमा रहेको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ , ‘उपत्यकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु सिकाइ सहजीकरणसँग जोडिन सकेका थिएनन् । भौतिक रुपमा विद्यालय सन्चालन भएपछि मात्रै जोडिएका विद्यार्थीहरुलाई अलि प्रेसर होला ।’

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here