ललितपुर, शुक्रबार, ५ भाद्र २०७७ । हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तिज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।

अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेकाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका तीजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनु भयो ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तिजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत बस्नेदेखि गरिने क्रियालापमै असर परेको छ ।

प्रा. डा. गौतमले सरकारको आदेश पालना गर्दै तीज मनाउने दिदीबहिनीले घरमै बसेर तीज मनाउन आग्रह गर्नुभयो । उहाँले व्रतका दिन विभिन्न शिवालय जानुको सट्टा घरमै शिव थापेर विधिपूर्वक पूजा गर्न सुझाव दिनुभयो ।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तिज जोडिएको पाइन्छ । शिव पुराणमा उल्लेख भएअनुसार पार्वतीको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीहरुले लुकाएर जंगलमा लगेको र पछि त्यहीबाट ब्रतको सुरुवात भएको मानिन्छ ।

हरितालिका तिजको प्रसङ्ग मात्र नभई यसको नामाकरण पनि पार्वतीले बसेको कठोर ब्रतसँग जोडिएको छ । हरितालिका, हरिता र अलिका मिलेर बनेको हो । जसमा हरिताको अर्थ हरण र अलिताको अर्थ साथीहरु भन्ने संस्कृतमा बुझिन्छ । यसरी भगवान विष्णुसँग पार्वतिले विवाह गर्न नमानेपछि साथीहरुले जंगलमा लुकाएर लगेकाले यसलाई हरितालिका भनिएको कथन छ ।

तिजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य बर प्राप्त होस भन्ने कामनाका साथ ब्रत वस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि ब्रत बस्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here