काठमाडौँ, मंगलबार, १४ पौष २०७७ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्न निर्देशन दिनुभएको छ ।
आज मंगलबार पर्यटन विभाग र पर्यटन बोर्डको कामको बारेमा जानकारी लिँदै मन्त्री ढकालले आन्तरिक पर्यटन प्रवद्र्धनको काममा जोड दिन निर्देशन दिनुभयो । कोरोनाका कारण विदेशी पर्यटकको चहलपहल तत्काल नहुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गर्नुपर्ने अवस्था आएको भन्दै उहाँले व्यवसायका समस्या समाधानका लागि आफू सहयोगी हुने बताउनुभयो । उहाँले विभाग र बोर्डको गतिबिधि प्रभावकारी बनाउनका लागि गठन आदेश, कार्यबिधि, नियमावलीमा केहीमा संशोधन गर्नुपर्ने भए त्यसका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले सानातिना नीतिगत समस्या परेका कारण काम हुन नसकेको भए त्यसका लागि आफूले निर्णायक सहयोग गर्ने बताउनुभयो ।
कर्मचारीलाई आफूले आफ्नै मूल्यांकन गर्दा समेत उत्कृष्ट काम गर्न अनुरोध गर्दै मन्त्री ढकालले भन्नुभयो ‘सधैँभरी सबैले अवसर पाउँदैनन्, अवसर पाएको समयमा राष्ट्रका लागि जति सकिन्छ त्यति राम्रो काम गरौँ । आफू कार्यरत संस्थाको सर्वोपरी हितका निम्ति काम गर्नुपर्छ ।’
सोही अवसरमा मन्त्रालयका सचिव यादव कोइरालाले बोर्डका कर्मचारीले पर्यटन प्रवद्र्धनका नाममा विदेश घुम्ने काम गर्ने गरेको तर त्यसमा गरिएको खर्च अनुसार के उपलिब्ध भयो भन्ने समिक्षको विषय रहेको बताउनुभयो ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले संस्थाको गतिबिधि र संरचानाको बारेमा जानकारी गराउनुभएको थियो ।