रुपा पौडेल

आमा भन्छिन,
दूर शहरमा तलाई दुःख छ
अब त फर्केलास छोरा घर
आमा यति पनि बुझ्दिनन् होला त ?

यो मेरो बाध्यता हो कि रहर ?
बाध्य त तिमी पनि छौ आमा
आफ्नो मुटु जलाउन
कोशिसमा त म पनि छु आमा
तिम्रो मुहार हँसाउन

लुक्दै पछ्यौरीले,
आँसु पुछेको तिमिले
नदेखेको कहाँ हो र
भर पेट खुवाएर मलाई |

मुस्कानले तिम्रो मुहार भिजेको
नदेखेको कहाँ हो र ?
मलाई पनि याद छ आमा
तिम्रो पेटमा पटुकी ।

धेरै पल्ट बाँधिएका छन्
तिम्रो ममताको आँचलमा
मेरो आँसुसित तिम्रो हाँसो
धेरैपल्ट साटिएका छन् ।

पट्ट फुटेका पैतालाहरुले
मलम नपाएर
चिरा-चिरा परेको देखेको छु मैले
बर्षौं देखिको ।

उही फरीया र चोलीमा
फरक-फरक सजिएको देखेको छु मैले
रहर त तिम्रा पनि छन् आमा
तर, तिमी कहिल्यै बोलिनौ |

अब त बोल्न सिक आमा
आफ्नो लागी
आफ्नो जीवनको लागि..

स्वतन्त्र हुनुपर्छ आमा
तिमी पनि
आफूमा, आफैभित्र… ।

स्वतन्त्र हुनुपर्छ आमा
अब तिमी पनि
आफैमा, आफैभित्र…..

२०७७ साल जेठ ११ गते आइतबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here