काठमाडौं, बुधबार, ७ असोज २०७७ । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको ऐक्यवद्धता जनाउनु भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको सहयोगमा राष्ट्रभर ४१ औं सामाजिक सेवा दिवस मनाइएको छ ।

“सामाजिक क्षेत्र : राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि सुखको लागि सामाजिक रुपान्तरण र उध्यमशीलता” भन्ने नारासहित ४१ औं सामाजिक सेवा दिवस मनाइएको हो । दिवस मनाउने क्रममा राष्ट्रिय आवश्यकता र हितका बिषयमा भएका छलफलहरुमा सरकारी र गैरसरकारी संघसंस्था तथा सरोकारवाला निकायका विज्ञ तथा प्रतिनिधिहरु सहभागी हुनु भएको थियो ।

समग्र विकासका लागि सामाजिक उद्यमशीलता, नेपालमा वैदेशिक सहयोगको प्रभावकारिता तथा कोरोना भाइरस (कोभिड-१९) को महामारीका समयमा सामाजिक क्षेत्रको योगदानसहितको बिषयमा वृहत अन्तक्रिया भएका छन् । भर्चुअल माध्यमबाट भएका अन्तरक्रिया कार्यक्रममा सामाजिक सञ्जालको प्रयोग गरी सहभागी र यसको प्रयोगकर्ताले सक्रिय सहभागिता जनाउनु भएको थियो ।

४१ औं सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी हटाउने र जनताको मौलिक अधिकारलाई स्थापित गर्न सरकार लागिपरेको बताउनुभयो । साथै, प्रधानमन्त्रीले परोपकारी भावनाबाट अभिप्रेरित भएर समाजिक बिकासमा आवद्ध हुन सबैलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले देशको विकासमा सामाजिक क्षेत्र एउटा प्रमुख आधारशिला भएको बताउनुभयो । साथै, उहाँले राज्यको नीति र सामाजिक क्षेत्रको मूल्य तथा मान्यता अनुरुप अघि बढ्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सामाजिक कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

सोही अवसरमा एआइएनका अध्यक्ष अच्युत लुइटेलले समृद्ध मुलुक निर्माणका लागि सरकारका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका अपरिहार्य रहने बताँउदै सामाजिक रुपान्तरण र कोरोना भाइरस (कोभिड-१९) के नियन्त्रणमा सरकारको प्राथमिकता अनुसार स्वास्थ्यसहितका क्षेत्रमा काम गरिरहेको र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कम्तिमा २ अरब रुपैंया सहयोग गर्ने निश्चित रहेको बताउनुभयो ।

त्यसैगरी, गैर-सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामा “मुलुकलाई नयाँ ढंगले अघि बढाउन तथा सामाजिक परिवर्तन ल्याउन राष्ट्रिय गैर सरकारी संस्था सरकार, निजी क्षेत्र र अन्तराष्ट्रिय साझेदार संस्थाहरुसँग मिलेर अघि बढ्न तयार छ ।” उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here