काठमाडौं, बिहिबार, १ असोज २०७७ । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर-बिजोर प्रणाली नहट्ने भएको छ ।

उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् ।

जोर बिजोर प्रणाली अत्यावश्यक सेवाका सवारी साधनमा भने व्यवस्था लागु हुने छैन ।

प्रशासनको आदेश अनुसार उपत्यकामा अनिश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

भदौ ३ गतेदेखि लागू गरेको निषेधाज्ञा आदेश परिमार्जन गरी भदौ २४ गते काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले ‘सीमित’ क्षेत्रमा निषेधाज्ञा तोकेको थियो।

आजको बैठकले अब निषेधाज्ञा लगभग खुलाएको छ। तर, केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल निषेधाज्ञा कायमै हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो ।

बिहीबारदेखि सबै खालका पसल खुल्नेछन्, उनीहरूका लागि यसअघि तोकिएको समय हटाइएको छ। यसअघि होटल खोल्न बन्देज लगाइएकोमा अब त्यो हटेको छ ।

कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ । सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here