February 24, 2024
खेलकुद

उमा कुङ्फुमा नेपाली खेलाडीको आकर्षण

काठमाडौँ, सोमबार, १८ मङ्सिर २०८० । मार्सल आर्ट्स खेल उमा कुङ्फुमा पछिल्लो समय नेपाली खेलाडीको आकर्षण हृवात्तै बढेको छ । चाइनिज मार्सल आर्ट्सअन्तर्गत उमा कुङ्फुमा सान्डा (फाइट), प्याटन र ताइची तीन विधा समावेश हुन्छ । उसु खेलसँग मिल्ने यस खेललाई अगाडि बढाउन र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय एरिनामा सामेल गराउन काठमाडौं बुढानीलकण्ठका सञ्जीतकुमार राईको योगदान ठूलो छ ।

उमा कुङ्फुमा पाँचौँ डान प्राप्त सञ्जीतलाई सानैदेखि खेलकुदले आकर्षित गर्‍यो । पुख्र्यौली घर खोटाङको सप्तेश्वर भए पनि सञ्जीत काठमाडौंमै जन्मिएर यहीँको माहोलमा हुर्किनुभयो । परिवारको ठूलो छोरा सञ्जीतलाई मार्सल आर्ट्स खेल खेलाउने बुबा कृष्णबहादुर राईको योजना थियो । बुबाकै सल्लाहमा उहाँले मार्सल आर्ट्सका विभिन्न विधाको अनुभव बटुल्ने अवसर पाउनुभयो । उसुको खेल्ने शैली र प्यार्टन मन परेकाले सञ्जीतले केही वर्ष उसु पनि खेल्नुभयो ।

सन् २००४ मा नेपालमा उमा कुङ्फु खेल खेल्न थालियो । त्यतिबेला चाबहिलमा उमा वल्र्ड युनाइटेड मार्सल आर्ट्स (युके) को कार्यालय स्थापना भई उमा कुङ्फु खेल सुरु गरिएको थियो । उसुकै शैलीमा खेलिने उमा कुङ्फु खेल्न सञ्जीतलाई प्रशिक्षक दीपक श्रेष्ठ र उसुका प्रशिक्षक नानीबाबु तामाङले हौसला दिनुभयो ।

विस्तारै सञ्जीतलाई उमा कुङ्फुको लत बस्यो । प्रशिक्षकहरूकै हौसलाले उमा कुङ्फु खेल्ने वातावरण पाउनुभएका सञ्जीतले राष्ट्रियस्तरका प्रतियोगितामा सहभागितासँगै सफलता पनि हात पार्न थाल्नुभयो । खेलाडीसँगै विद्यालयहरूमा प्रशिक्षण दिने काम पनि सुरु गर्नुभयो ।
बुढानीलकण्ठ क्षेत्रमा उमा कुङ्फु क्लब स्थापना गरेर सहायक प्रशिक्षकको भूमिका निभाउनुभएका सञ्जीतले इन्टरस्कुलस्तरीय प्रतियोगिताहरूमा प्रशिक्षकका रूपमा स्कुललाई थुप्रै पदक पनि दिलाउँदै जानुभयो ।

उमा कुङ्फु खेललाई नेपालका विभिन्न स्कुलहरूमा परिचित गराउने, क्लब गठन गर्ने, जिल्ला संघ गठन हुँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा संघ दर्ता गर्नसमेत सञजीतको अग्रसरता उल्लेख्य रहृयो । नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका सञ्जीतका अनुसार नेपालमा हाल उमा कुङ्फु २० जिल्लामा विस्तार भइसकेको छ । उपत्यकामा मात्र उमा कुङ्फु खेल्ने करिब १५ सय खेलाडी छन् ।

उमा कुङ्फु खेलका खेलाडी, प्रशिक्षक, जज (निर्णायक) र पदाधिकारीका रूपमा सक्रिय सञ्जीतले उमा कुङ्फुको नीति निर्माण तहमा समेत उल्लेख्य काम गरिरहनुभएको छ । नेपालमा यस खेललाई स्थापित गराउन उहाँको योगदान महत्वपूर्णछ ।

खेलाडीका रूपमा सञ्जीत सन् २०१५ र २०१६ का उमा कुङ्फु (नानछ्वान) मा लगातार दुईपटक नेसनल च्याम्पियन हुनुभयो । खेलाडीसँगै सञ्जीतको नाम अन्तर्राष्ट्रिय जजका रूपमा विश्वभर परिचित छ । उहाँले जर्मनी, अस्ट्रिया, अमेरिका, भारतलगायत देशमा गएर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको कुशल भूमिका निर्वाह गरिसक्नुभएको छ । भारतको लखनउमा भारतीय कुङ्फु महासंघको आयोजनामा भएको १४ औँ नेसनल कुङ्फु च्याम्पियनसिपमा त उहाँ मुख्य निर्णायककै जिम्मेवारीमा रहेर कुशलतापूर्वक च्याम्पियनसिप सम्पन्न गराउनुभयो ।

यस्तै, उहाँले नेपालमा सन् २०२० र २०२३ मा सम्पन्न क्रमशः पाँचौँ र छैटौँ नेसनल उमा कुङ्फु च्याम्पियनसिपमा मुख्य निर्णायकको भूमिका निभाउनुभएको थियो । सञ्जीतलाई २०२३ को च्याम्पियनसिपकै दौरानमा राखेपका सदस्य-सचिव टंकलाल घिसिङले विश्व मार्सल आर्ट्स कमिटी मुख्यालय अस्ट्रियाबाट प्राप्त पाँचौँ डान उपाधि प्रदान गर्नुभएको थियो ।

सञ्जीत अन्तर्राष्ट्रिय कुङ्फु फेडेरेसन (आइकेएफएफ) चाइना बेइजिङ र टुवा कुङ्फु डेनमार्कअन्तर्गत नेपाल च्याप्टरको महासचिवसमेत हुनुहुन्छ । प्रशिक्षक र निर्णायकसँगै अहिले भेट्रान खेलाडीका रूपमा सक्रिय सञ्जीत सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा भेट्रानमा स्वर्ण जित्नुलाई आफ्नो जीवनकै सबैभन्दा खुसीको क्षणका रूपमा मनन गर्नुहुन्छ ।

‘मार्सल आर्ट्समा जीवनको अमूल्य २८ वर्ष समय बिताएँ । उमा कुङ्फुमा लागेर के पाएँ के गुमाएँ भन्दा पनि आत्मसन्तुष्टि पाएको छु । खेलाडी, प्रशिक्षक, निर्णायक र पदाधिकारीका रूपमा राष्ट्रको नाम राख्न पाउनु सबैभन्दा ठूलो खुसी र सन्तुष्टि रहेछ । भविष्यमा राम्रा खेलाडी उत्पादन गरेर नेपाललाई विश्व च्याम्पियनसिप, एसियाली च्याम्पियनसिप र अन्य अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा धेरै पदक दिलाउने योजना छ । खेलाडी उत्पादनका लागि संघका तर्फबाट सुविधासम्पन्न प्रशिक्षण केन्द्र खोल्ने अभियानमा छौँ । उमा कुङ्फुलाई अझै नेपालको स्थापित खेलका रूपमा अगाडि बढाउने सोच छ,’ ४२ वर्षीय सञ्जीतले आफ्नो भावी योजना सुनाउनुभयो ।

नेपालमा उमा कुङ्फु खेलको विकासका लागि दिनरात नभनी होमिनुभएका सञ्जीत जीवनको अन्तिम क्षणसम्म खेल क्षेत्रलाई नछाड्ने बताउनुहुन्छ । ‘मार्सल आर्ट्समा लागेको झण्डै तीन दशक भएछ । बिनालगाव यो सम्भव थिएन,’ उहाँ भन्नुहुन्छ, ‘जीवनको अन्तिम क्षणसमेत खेलकुद क्षेत्रमै समर्पण गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *