काठमाडौं, आइतबार, ४ साउन २०७७ । मौद्रिक नीतिले व्यवसायीको माग समेटेको भन्दै भोली सोमबारबाट सार्वजनिक सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगन बहादुर हमालले भोलि (सोमबार) बिहानबाट यातायात सञ्चालन हुने बताउनु भएको छ । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको बताउनु भयो । कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनु भयो । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उहाँले बताउनु भयो । हाललाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । काठमाडौं उपत्यकाको हकमा भने यो लागू नहुने बताएको छ ।

उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here