Monday, March 1, 2021
More

    एचआइभी रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता

    गंगाराज अर्याल

    विश्वभरिका देशहरुमा जस्तै नेपालमा पनि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन “एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐकवद्धता तथा साझा जिम्मेवारीं” भन्ने नाराका साथ ३१सौं विश्व एड्स दिवस मनाइएको छ। यस वर्षको विश्व एड्स दिवसको नाराको मुख्य उद्देश्य एचआइभी रोकथाम तथा नियन्त्रण गर्न विश्वव्यापी रुपमा समुदायलाई सहभागि गराई प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउनु रहेको छ।

    एचआइभी/एड्सको ऐतिहासिक पृष्ठभूमि

    सर्वप्रथम सन् १९८८ मा पहिलो एचआइभी संक्रमित व्यक्तिको पहिचान भएको थियो। विश्वभरिका धेरैजसो मुलुकमा फैलिएको एचआइभीबाट हालसम्म अर्थात् सन् २०१९ को अन्त्यसम्म जम्मा ३ करोड ८० लाखजति व्यक्ति संक्रमित भएका पाइएको छ। नेपालमा ३७ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। तीमध्ये ३२ हजारभन्दा बढी १५ देखि ४९ वर्ष उमेरका पाइएका छन्। साथै १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।

    एचआइभी/एड्सको वर्तमान अवस्था

    स्वास्थ्य सेवा विभागको २०७५/७६ को प्रतिवेदन अनुसार नेपालका झन्डै ३० हजारभन्दा बढी व्यक्ति एचआइभी संक्रमित व्यक्तिले जीवनयापन गरिरहेको अनुमान गरिएको थियो। नेपालमा हाल ३७ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन्, जसमध्ये १४ वर्षसम्मका १ हजार ३ सय जति र १५ देखि ४९ वर्ष उमेरका २९ हजारभन्दा बढी व्यक्ति एचआइभी संक्रमित जीवन बिताइरहेका छन्। नेपालमा सबैभन्दा बढी संक्रमितमध्ये १५ देखि ४९ वर्ष उमेरका झन्डै ७२ प्रतिशत पाइएका छन्।

    सन् २०१८ मा नेपालमा झण्डै ३० हजारजति अर्थात् कुल जनसंख्याको ४.३ प्रतिशत व्यक्ति एचआइभी संक्रमित भएर जीवनयापन गरेको अनुमान गरिएको थियो। जसमा १४ वर्ष उमेरसम्मका झन्डै १ हजार ३ सय जति संक्रमित भएरै जीवनयापन गरिरहेको पाइयो भने १५ वर्ष र सो माथिका सबैभन्दा बढी (झन्डै ९६ प्रतिशत) पाइयो। २०७६÷७७ मा नेपालमा यौनरोगका बिरामीको संख्या १ लाख २६ हजार छ। सन् २०१८ जुलाईसम्ममा नेपालमा १ हजार ३ सयभन्दा बढी व्यक्ति एचआइभीबाट नयाँ संक्रमित भएका पाइएकोमा जुलाई २०२० सम्ममा १९ हजारभन्दा बढी एचआइभी/एड्स पीडित व्यक्तिले Anti-Retroviral Therapy सेवन गरिरहेका छन्।

    एचआइभी/एड्सको परिभाषा

    मानवको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने जिवाणु कुनै माध्यमबाट शरीरमा प्रवेश गरेमा रगतमा यसको वृद्धि विकास हुनु नै एचआइभी संंक्रमण हो। एचआइभीले मानव शरीरको रोगसँग लड्नसक्ने क्षमतालाई कमजोर बनाउँदै लगेपछि जुनसुकै रोगले पनि आक्रमण गरी रोगी तुल्याउन सक्छ। यही अवस्था नै एड्स हो ।

    एचआइभी सर्ने तरिका

    • असुरक्षित यौन सम्पर्क : एच.आइ.भी. संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गरेमा एच.आइ.भी. सर्छ।
    • असुरक्षित रगत आदानप्रदान : स्वच्छ व्यक्तिले एच.आइ.भी.बाट प्रदूषित रगत लिएमा एच.आइ.भी सर्दछ।
    • एच.आइ.भी. संक्रमित आमा : एच.आइ.भी संक्रमित गर्भवती आमाबाट शिशुमा एच.आइ.भी.सर्ने सम्भावना ४५ प्रतिशत रहन्छ।
    • लागुपदार्थ/औषधि सेवन : एच.आइ.भी. संक्रमित व्यक्तिले नसाद्वारा लागुपदार्थ/औषधि सेवन गर्दा प्रयोग गरेका प्रदूषित सिरिञ्ज–सुई स्वस्थ व्यक्तिले प्रयोग गरेमा एच.आइ.भी. सर्दछ।

    एच.आइ.भी./एड्सका चिह्न र लक्षण

    १. विना कारण हरेक महिनामा १० प्रतिशतसम्म तौल घट्नु।
    २. एक महिनाभन्दा बढी पखाला लागिरहनु।
    ३. जुनसुकै स्वास्थ्य समस्याले आक्रमण गरिरहनु।
    ४. एक महिनाभन्दा बढी ज्वरो आउनुका साथै अन्य संक्रमण भइरहनु।
    ५. मुखभित्र ढुसी देखिनु।
    ६. शरीर जिर्ण हुँदै जानु।
    ७. अन्त्यमा मृत्यु समेत हुनु।

    एच.आइ.भी./एड्स तथा क्षयरोगको सह–संक्रमण

    • एच.आइ.भी./एड्स व्यक्तिमा प्रतिरक्षा प्रणाली कमजोर हुँदा क्षयरोगको समेत संक्रमण बढिरहेको छ र एच.आइ.भी./एड्स, क्षयरोग सह–संक्रमणका कारणले मृत्युसमेत बढिरहेको छ। यसबाट नागरिक, परिवार, समुदायका साथै देशकै सामाजिक, आर्थिक अवस्थामा समेत नकारात्मक असर परेको छ।
    • एच.आइ.भी. संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षणगरी पूरा उपचार गर्नु पर्दछ।
    • समयमैं परीक्षण, परामर्श, नियमित पूरा उपचार, माया र हेरचाह गरेमा एच.आइ.भी./क्षयरोगको सह–संक्रमणबाट हुने मृत्युदर घटाउन सकिन्छ।

    एच.आइ.भी/एड्स नियन्त्रणमा चुनौती

    • नेपालमा करिब १ लाख २६ हजारजति यौनरोगी पाइएका छन्। जसमा १.५ प्रतिशत Chlamydia Trachomitis र १ प्रतिशतजति Neisseria Gonorrhoea बाट संक्रमित छन्। तर यौनरोगको खोजपडताल तथा उपचारमा सरकारको ध्यान पुगेको छैन।
    • १५ देखि ४९ वर्षका उत्पादनशील व्यक्तिनै एच.आइ.भी./एड्सबाट संक्रमित र पीडित छन्।
    • असुरक्षित यौन सम्पर्क, सुइद्वारा नसालु पदार्थ सेवन, समलिंगी यौनसम्पर्क, घरदेखि टाढा रहेर व्यवसाय गर्दा असुरक्षित यौन सम्पर्क तथा कण्डम प्रयोग नगरिकनै यौनसम्पर्क गर्दा रोकथाम/नियन्त्रणमा चुनौती छ।
    • कुनै व्यक्तिलाई एच.आइ.भी. संक्रमण भएको थाहा पाउँदा वा शंका लाग्नासाथ भेदभाव तथा सामाजिक बहिष्कार गरिन्छ।
    • एच.आइ.भी./एड्स नियन्त्रणमा राजनीतिक प्रतिबद्धता र दिगो राजनीतिक शासन व्यवस्था कायम नहुँदा पनि समस्या देखिन्छ।
    • यौनरोग लागेका व्यक्ति लाज, संकोच तथा सामाजिक÷मनोवैज्ञानिक कारण समयमै स्वास्थ्य संस्थामा परीक्षण/उपचारका लागि आउँदैनन्। यसले गर्दा दीर्घ यौनरोगका कारण एच.आइ.भी. सर्ने बलियो सम्भावना रहन्छ।
    • यौनरोगको परीक्षण/उपचार तथा परामर्शमा सरकारको ध्यानै पुग्न सकेको छैन।
    • १५ देखि ४९ वर्षका उत्पादनशील समूह नै एच.आइ.भी./एड्सबाट संक्रमित र पीडित छन्।
    • हालसम्म ५२ प्रतिशत गर्भवतीले मात्र Antiretroviral therapy प्राप्त गरेका छन्।
    • एच.आइ.भी./एड्स नियन्त्रणमा तालिम प्राप्त स्वास्थ्यकर्मीको कमी, औषधि, उपकरणको आपूर्तिमा कमी, आवश्यक प्रयोगशालाको कमी, भएका प्रयोगशालामा पर्याप्त परीक्षण क्षमतामा कमी, सुपरिवेक्षण/अनुगमनमा कमीले चुनौती देखिन्छ।
    • विश्वव्यापी सामाजिक, आर्थिक समस्याले एच.आइ.भी./एड्स स्वास्थ्य क्षेत्रको प्राथमिकतामा पर्न सकेको छैन।
    • मुलुकबाट रोजगारको सिलसिलामा बाहिर जाने कामदारलाई एच.आइ.भी./एड्सका बारेमा चेतना अभिबृद्धिका साथै स्वास्थ्य प्रबर्धन गर्न सकिएको छैन।
    • संयुक्त राष्ट्रसंघीय संगठनबाट प्रदान गर्दै आएको एच.आइ.भी./एड्स नियन्त्रणमा प्राप्त बजेट धेरैवर्षदेखि एड्स, क्षयरोग तथा औलो रोगको एकीकृत नियन्त्रणमा ग्लोबल फन्ड (Global Fund for AIDS,TB & Malaria) मार्फत प्राप्त बजेट एकलौटी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनलाई उपलब्ध गराइएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले कार्यक्रम नबनाई उसैको भरमा पर्दा एच.आइ.भी./एड्स नियन्त्रणमा समुदायस्तरसम्म चेतना, परामर्श, परीक्षण र उपचार पुग्न सकेको छैन।
    • एच.आइ.भी./एड्स संक्रमित भएका तर जानकारी र परीक्षणको पहुँच नहुदा परामर्श परीक्षण तथा उपचारको अभावमा पिल्सनुपरेको छ।

    एच.आइ.भी./एड्सपरामर्श र परीक्षण : नेपालका हालसम्म १३६ जति सरकारी अस्पताल तथा निजी अस्पतालमा रहेका ३९ गरी जम्मा १७५ Voluntary Counseling & Testing Centre मा एच.आइ.भी.को परामर्श तथा परीक्षण निःशुल्क गरिन्छ।

    एच.आइ.भी./एड्स परामर्श र परीक्षणका फाइदा

    • एच.आइ.भी./एड्सको परामर्शबाट संक्रमण नभएमा र संक्रमण भएमा गर्नुपर्ने सावधानीबारे थाहा पाउन सकिन्छ।
    • संक्रमण भएको खण्डमा आफ्नो परिवार, सन्तान समेतको परीक्षण गराई औषधोपचार र स्याहारसुसार गर्न मद्दत पुग्छ भने यौनसाथीको समेत एच.आइ.भी.को अवस्था थाहा पाई आवश्यक कदम चाल्न सकिन्छ।
    • एच.आइ.भी. संक्रमित भएमा समयमै औषधिको सेवन गरी स्वस्थ रहन र अरुलाई एच.आइ.भी. सर्नबाट बचाउन सकिन्छ।
    • गर्भवतीले औषधि सेवन गरेमा गर्भको शिशुलाई एच.आइ.भी.सर्ने सम्भावना न्यून हुन्छ।

    एच.आइ.भी./एड्स रोकथाम

     असुरक्षित यौनसम्पर्क गर्दा एच.आइ.भी. सर्ने जोखिम अत्यधिक बढ्ने हुनाले असुरक्षित यौनसम्पर्क गर्नु हुदैन।
     एकपटक प्रयोग गरिएका सिरिञ्ज, सुई तथा अन्य छाला छेड्ने औजारहरु निर्मलीकरण नगरी प्रयोग गर्नु हुँदैन।
     यौनरोग लागेको संका लाग्नासाथ स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण तथा उपचार गर्नु पर्दछ।
     एच.आइ.भी संक्रमित आमाले आफू र शिशुलाई एच.आइ.भी.संक्रमणबाट बचाउन पूरा औषधि खानु पर्दछ। बीचमा औषधि कदापि छोड्नु हुँदैन।
     यौनरोगबारे व्यापक जनचेतना जगाई यौनरोगीको खोजपडताल गरी परीक्षण÷उपचार गर्न स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिई परिचालन गरिनुपर्छ।
     परीक्षण नगरिएको र असुरक्षित रगत प्रयोग गर्नु हुँदैन।
     संकास्पद साथीसँग यौनसम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्नु पर्दछ।
     समुदायस्तरसम्म निःशुल्क यौनरोग (एच.आइ.भी.समेत) को परीक्षण सुविधा विस्तार गर्नु पर्दछ।
     लागुपदार्थ/औषधि सेवन गर्नु हुँदैन।
     हानिकारकक मद्यपान सेवन गर्नु हुँदैन।
     विश्व एड्स दिवस काठमाडौंका होटलको साटो खुला मैदान, हरेक स्थानीय तह र स्वास्थ्य संस्थामा जनचेतनामुलक कार्यक्रमकासाथ व्यापकरुपमा मनाइनु पर्छ।

    एच.आइ.भी./एड्सको उपचार तथा हेरचाह : एच.आइ.भी/एड्स पीडित व्यक्तिलाई विभिन्न सरकारी अस्पतालमा ८० वटा ART Centre तथा ३० वटा Dispencing clinic बाट एन्टिरेट्रोभाइरल औषधि (ART) दिइन्छ। एच.आइ.भी–क्षयरोग सह–संक्रमण भएमा पनि दुवै समस्याका औषधि नियमित र पूरा उपचार गरेमा एच.आइ.भी तथा क्षयरोग निको पार्न सकिन्छ।

    एच.आइ.भी./एड्स पीडितलाई घरपरिवार अथवा समुदायस्तरसम्म हेरचाह

    • एच.आइ.भी./एड्स संक्रमितलाई हेरचाहबारे जानकारीमुलक शिक्षा दिनुपर्छ।
    • एच.आइ.भी./एड्स पीडितलाई व्यक्तिगत सरसफाई, स्वस्थ खानपानको व्यवस्था गरिदिनुपर्छ। कुनै समस्या परेमा स्याहार सुसारका साथै सामाजिक तथा भावनात्मक सहयोग गर्नुपर्छ।
    • आय आर्जन गर्न आर्थिक व्यवस्था तथा अन्य सरसल्लाह दिई सघाउनु पर्छ।
    • जुनसुकै कारणले एच.आइ.भी. संक्रमित भए पनि निराशाको सट्टा सकारात्मक स्वास्थ्य प्रबर्धन गर्नुपर्छ।
    • एच.आइ.भी./एड्ससँगै क्षयरोग संक्रमण भएमा दुवैथरी औषधि सँगै खानु पर्दछ।
    • .शिशुलाई स्तनपान गराउने एच.आइ.भी.संक्रमित आमाले नियमित स्तनपान गराइरहनु पर्दछ।
    • एच.आइ.भी./एड्स संक्रमितको रगतमा एच.आइ.भी.को बोझ २०० भन्दा कममा सीमित राख्न ३३ वटा केन्द्रमा पाइने निःशुल्क रगतको CD4 count नियमित गराई भाइरसको बोझ यकिन गर्नुपर्छ। किनभने एच.आइ.भी./एड्सको औषधि (Anti retroviral Therapy) ले भाइरल लोड घटाउँछ।
    • एच.आइ.भी./संक्रमित व्यक्तिलाई समुदायस्तरसम्म स्वास्थ्य सेवाको पहुँच बढाउनु पर्छ।
    • समुदायस्तरसम्मका हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई यौनरोगको Syndromic Approach तालिम प्रदान गरी खोजपडताल, परीक्षण तथा उपचारमा परिचालन गरिनुपर्छ।
    • स्वास्थ्यकर्मीलाई सकेसम्म एच.आइ.भी./एड्स पीडित व्यक्तिको घर–घरमै पुगेर स्वास्थ्य सेवा दिने व्यवस्था गर्नुपर्छ।
    • गर्भवतीबाट शिशुमा एच.आइ.भी सर्नबाट बचाउन दिइने ART ५२ प्रतिशतबाट बढाउनुपर्छ।
    • एच.आइ.भी./एड्स पीडितलाई परिआउने स्वास्थ्य हेरचाह तथा संक्रमण रोकथाम गर्न परिवारका सदस्य, स्वास्थ्य स्वयंसेवक तथा एच.आइ.भी.÷एड्स संक्रमित समेतलाई तालिम दिई परिचालन गर्नुपर्छ।
    • एच.आइ.भी./एड्सको औषधि स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित रुपमा र पूरा अवधिभर सेवन गर्नुपर्छ।
    • ART केन्द्रमा कर्मचारीर ART बारे जानकारीमुलक होर्डिङबोर्डको संख्या बढाइनु पर्दछ।

    एच.आइ.भी./एड्स संक्रमितको स्वास्थ्य प्रबर्धन

     एच.आइ.भी.संक्रमणबाट बच्न यौन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्छ।
     असुरक्षित यौन सम्पर्कका हानीबारे समुदायस्तरसम्म व्यापक चेतना जगाउनु पर्छ।
     यौनरोग/एच.आइ.भी.संक्रमणको अवस्थाका लागि समयमैं परामर्श, परीक्षण/उपचार गर्नुपर्छ।
     हरिया तरकारी, फलफूल सहित स्वस्थकर र पोषिलो खानेकुरा खानुपर्छ।
     यौनसम्पर्क गर्दा सही तरिकाले कण्डमको प्रयोग गर्नुपर्छ। .विद्यालयस्तरदेखि शैक्षिक पठनपाठनमा यौन क्रियाकलाप, यौनरोग/एच.आइ.भी./एड्सबारे जोड दिनुपर्छ।
     एच.आइ.भी/एड्स पीडित गर्भवती आमाले आफू र गर्भको शिशुलाई संक्रमणबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित र पूरा औषधि सेवन गर्नुपर्छ।
     हरेक जुन महिनाको २७ तारिखका दिन मनाइने एच.आइ.भी.परीक्षण दिवस नेपालका हरेक Voluntary Counseling and testing Centre मा समेत चलाउनुु पर्दछ भने हरेक प्राथमिक स्वास्थ्य केन्द्रस्तर वा स्थानीय तहसम्म यस्ता केन्द्रको विस्तार गरिनुपर्छ।
     यौनरोग/एच.आइ.भी.संक्रमण भएको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण तथा उपचार गर्नुपर्छ।
     विद्यालयस्तरदेखिकै पाठ्यक्रममा यौन, यौनरोग/एच.आइ.भी./एड्स विषय समावेश गरिनु पर्दछ।
     किशोरकिशोरीलाई यौन, यौनरोग/एच.आइ.भी.बारे स्पष्ट जानकारी गराउनु पर्छ।
     विश्व एड्स दिवस काठमाडौंका तारे होटलभन्दा खुला मैदान, हरेक स्थानीय तह, शिक्षालय, स्वास्थ्य संस्था तथा टोलटोलमा व्यापक जनचेतनामुलक कार्यक्रमका साथ मनाइनु पर्छ।
     सुरक्षित व्यवहार परिवर्तनबारे सूचना, शिक्षा तथा सञ्चार कार्यक्रमलाई व्यापक बनाइनु पर्छ।

    २०७७ साल मङ्सिर १६ गते मंगलबार ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here