काठमाडौँ, शनिबार, २ मङ्सिर २०८० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सत्तामा नभएपनि चौतर्फी प्रहारको निशानामा रहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्तादेखि, आफूलाई वैकल्पिक शक्ति भन्नेहरू र प्रतिगामी शक्तिहरुको प्रहारको निशानामा एमाले रहेको बताएका हुन् ।
‘सत्तामा रहनेहरुको प्रहारको निशाना एमाले। आफूलाई वैकल्पिक शक्ति भनेर पुराना होइन, नयाँ भन्नेहरुको प्रहारको निशाना पनि एमाले। परिवर्तन असफल भयो, अब राजा नै चाहिन्छ भन्ने प्रतिगामीहरूको प्रहारको निशाना पनि एमाले,’ उनले भने, ‘के नेकपा एमाले अहिले सरकारमा छ र ?’
महासचिव पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको बताए ।
उनले यस्ता प्रहारहरू एमालेमाथिको नभइ देशभक्त शक्तिमाथिको प्रहार रहेको बताए। ‘यो ‘एमाले नेतृत्वमाथिको प्रहार होइन, नेपाली जनताको भविष्यमाथिको प्रहार हो,’ उनले भने ।