काठमाडौं, मंगलबार, २० साउन २०७७ । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमण दर निकै बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् ।

आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको छलफलमा सहभागी जनस्वास्थ्यविदहरुले कम्तीमा दुई साता कडा लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभएको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका अनुसार छलफलमा आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिइएको हो । ‘यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिनुभयो,’ बैठकमा आफ्नो धारणा राखेर बाहिरिनु भएका नेता ठाकुरले भन्नुभयो ।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको आफूले पाएको जानकारी पनि उहाँले दिनुभएको छ ।

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेदेखि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र ठाकुरसहित जनस्वास्थ्यविदहरुसँग सुझाव लिन बैठक बोलाउनु भएको हो । प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्दा प्रभावकारी हुन्छ भन्ने प्रश्न राखेर सुझाव लिनुभएको हो । बिज्ञको सुझावका आधारमा मुलुकमा फेरि लकडाउन हुने अवस्था देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here