February 24, 2024
पालिका विशेष

करिव २४ किलोमिटर सडकलाई तीन खण्डमा बिभाजन गरेर काम अघि बढाउदै भिमसेनथापा गाउँपालिका

गोरखा, मंगलबार, ९ माघ २०८० । भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । करिव २४ किलोमिटर सडकलाई तीन खण्डमा बिभाजन गरेर काम अघि बढाइएको छ ।

पालिकाकै बजेटबाट चक्रपथ निर्माण गर्न लागिएको हो । पहिलो खण्ड (झिंगटेदेखि अश्राङ हुदैँ बोर्लाङको चण्डीथानसम्म) को आठ किलोमिटर सडकमध्ये तीन किलोमिटर स्तरोन्नती भइसकेको इन्जिनियर कपिल पनेरुले बताए ।

‘झिंगटेदेखि अश्राङको चण्डीगैरासम्मको करिव ३.३ किलोमिटर सडक पक्की नाला सहित ग्राभेल भइसकेको छ,’ उनले भने, ‘आवश्यक ठाउँमा रिटर्निङ वाल र ह्यूम पाइप राखेर क्रस ड्रेनेजको काम पनि भएको छ ।

’ तीन करोड ६० लाखको लागतमा उक्त सडक स्तरोन्नती गरिएको उनले जानकारी दिए । आर्थिक बर्ष २०७६/७७ मा ठेक्का लागेको उक्त योजना हाल सम्पन्न भइसकेको उनले बताए ।

सोही खण्डमा यस बर्ष पनि पालिकाले थप स्तरोन्नतीको काम गर्न लागेको छ । ग्राभेल भइसकेको सडक खण्डको उकालो ओरालो भागमा ढलान गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

काठमाडौंको क्रियटिभ भारद्धार जेभीसँग ठेक्का सम्झौता भएर कामको प्रक्रिण अघि बढिसकेको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘सो योजनाका लागी एक करोड रकम छुट्याएका थियौ,’ उनले भने, ‘८७ लाखमा ठेक्का सम्झौता भएको छ ।’

उकालो ओरालो भाग ढलानसँगै छुटपुट भएका केही ठाउँमा रिटर्निङ वाल समेत लगाइने उनले जानकारी दिए । बाह्रै महिना सहज रुपमा सवारी संचालनका लागी सो सडकखण्डलाई थप स्तरोन्नती गर्न लागिएको उनले बताए ।

‘बर्षाको समयमा उकालो आरोलो भागको ग्राभेल बगाउन सक्छ भनेर ढलान गर्न लागेका हौ, ढलान गरेपछि बर्षामा पनि सवारी आउजाउमा कुनै समस्या हुदैन,’ उनले भने । २०८० साल चैत्र मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको पालिकाले जनाएको छ ।

चक्रपथ अन्तरगतको तेस्रो खण्ड (बिलेटारबाट इतलापोखरी धावाभन्ज्याङ हुदै सिमलाफेदसम्म) को सडक स्तरोन्नतीका लागी पनि ठेक्का सम्झौता भइसकेको छ । स्तुल कन्स्ट्रक्सनसँग एक करोड ६० लाखमा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

उनका अनुसार समपुरक बजेटबाट विनियोजित रकमले काम गर्न लागिएको हो । ‘यस खण्डमा पक्की नाला, ढलान, ग्याविन स्ट्रक्चर, रिटर्निङ वाल लगायतका काम हुन्छन्,’ उनले भने ।

यही चैत्र मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको उनले जानकारी दिए । उनका अनुसार दोस्रो खण्डमा पर्ने बोर्लाङदेखि चण्डिथानबाट कोटलेचौर हुदैं धावाको बिलेटारसम्मको सडकमा भने काम शुरु भएको छैन ।

करिव २४ किलोमिटर दुरीको भीमसेन थापाचक्रपथलाई तीन खण्डमा बिभाजन गरिएको छ । तीन वटै खण्डको दुरी करिव आठ किलोमिटर रहेको छ । गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरेर २०७६ सालबाट चक्रपथ निर्माणको काम शुरु भएको हो । गाउँपालिका आफैले आन्तरिक स्रोतबाट चक्रपथ निर्माण गर्न लागेको हो ।

चक्रपथ अन्तरगत पर्ने पहिलो खण्डमा भने प्रदेशको बजेटबाट केही काम भएको पालिका इन्जिनियर पनेरुले बताए । ‘प्रदेशले बजेट विनियोजन गरेर पहिलो खण्डको दुई किलोमिटर सडक स्तरोन्नती ग¥यो, डुप्लिकेसन हुन्छ भनेर हामीले त्यो भागमा रकम विनियोजन गरेका छैनौ, बाँकी ठाउँमा पालिकाकै बजेटले काम भइरहेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *