कौशिला रिसाल

यतिबेला हुर्हुराइरहेछ,

हातमा मृत्युको निम्तो बोकेर

आगो जस्तै समय

खोसेको छ

स्वतन्त्रताको नीलो आकास,

हराएको छ ।

मान्छेमा खुसीको वैजनी रङ्ग

दशाको आँधी चलेको छ,

पीडाको कालो मुस्लोले

मान्छेलाई ढाकेको छ ।

विश्व हल्लाइरहेछ,

समयसँगै बहेको

सङ्कटको उष्ण हुरीले !

मानौँ समयले मृत्यु बाँडिरहेछ

व्याप्त छ, यौटा निराकार महायुद्ध ।

आफैँबाट

बाँधिएका छन् खुट्टामा नेल

लगाइएको छ हतकडी ।

समयको आयतनमा थपिएको छ,

अर्को बौलाहा भोक

भोकको, भोकले आत्तिएकाहरूका

चुलोमा बल्न मानेको छैन आगो

झुपडीका धुरीले

ओकल्न पाएका छैनन् पीरो धुवाँ

आँसुका नुनिला तालमा मुछिएका

पीडाका आकारहरू

भुङ्ग्रोको तावामा

पाकिरहेछन् रोटीजस्तै

विश्वासको धुरी चुहिएर खसिरहेछन्

तप्पतप्प

निराशाका बुँदहरू !

पशुपतिमा अक्षता छरेजति

राहतका नाममा कलङ्क बाँडेर

विज्ञापन डकारीरहेछन्

जीवित लासहरू

मानवताका गीत गाउँदै

सिदाका टपरी सार्ने मुर्दाहरू

व्यस्त छन् यतिखेर

कात्रोमा गोजी सिलाउन ।

यदि

मान्छेले साँच्चै भोक चिनेको हुन्थ्यो भने,

भोकको मर्म बुझेको हुन्थ्यो भने

मान्छेका प्रयोजनलाई बिर्सेर

ढोलिन्थेन बाटोमा दूध

पोखिन्थेन माटोमै तरकारी

छरिन्थेन सडकमा पैसा

दिनुपर्थेन

कुनै धनाढ्यबाट

खोजीखोजी तीन पुस्ते अख्तियारी ?

लेखिन्थेन सायद

अंशियारका मन्जुरीनामा ?

पैसा सबथोक हो भने,

सडकको पैसा टिपेर

भोक अघाउँथ्यो मान्छे

बटुलेका एटिएमले

गाँस पुग्नेथ्यो उसको

सत्य ! सत्य ! लाग्दैनथ्यो होला

भोकको भोकमरी ?

आँखामा अन्धविश्वासको

कालो पट्टी बाँधेर

सुस्वास्थ्यको कामना गर्नेहरू हो !

यतिबेला मलाई सोध्न मन छ,

खै कहाँ छन् ?

तिम्रा ईश्वर, अल्लाह र यशुका प्रभुहरू

देउराली र बगरका पत्थरहरू बटुलेर

धर्मका खेती गर्ने

धर्म भीरु हो !

कृपया भन,

अस्पतालका देउता नपुजेर

अझै पनि धाउने कि ?

मन्दिर, मस्जिद र चर्चहरू ?

२०७७ साल बैशाख ७ गते आइतबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here