February 24, 2024
राष्ट्रिय समाचार

काठमाडौँमा मेलम्चीको पानी

काठमाडौँ, सोमबार, १ माघ २०८० । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा धाराको पानी पिउँदै मेलम्ची खानेपानी पथान्तरणको शुभारम्भ गर्नुभयो । यो समेत गरी मेलम्ची ८ पटक उद्घाटन भइसकेको छ । पटक पटक पानी पथान्तरणको सुभारम्भ गरिए पनि राजधानी भने काकाकूल नै छ । २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोले मुहान क्षेत्र अस्तव्यस्त बनेको थियो । त्यसपछि राजधानीले नियमित रुपमा पानी पाएको थिएन । अहिले २१३ दिनपछि पानी अस्थायी रुपमा ल्याउन सुरु गरिएको हो ।

शुभारम्भ कै कुरा गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समेतले शुभारम्भ गर्नुभएको मेलम्चीको खानेपानी सिजनल रुपमा आउने गरेको छ । त्यो पनि वितरण प्रणालीका कारण होला अधिकांश ठाउँमा औंसी पूर्णिमामा मात्रै जनताले पानी पाउँछन् ।

तत्काली प्रधानमन्त्री केपी शर्मा ओली सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा नै पुगेर उद्घटन गर्नुभएको थियो । २०७७ फागुनमा उहाँले बटन थिचेर प्रशोधन केन्द्रमा पानी हाल्ने कामको उद्घाटन गर्नुभएको थियो ।

त्यसको १ महिनापछि तत्कालीन राष्ट्रपति भण्डारीले पनि उद्घाटन गर्नुभएको थियो । भृकुटीमण्डपमा टुंगेधारा निर्माण नै गरेर उहाँले उद्घाटन गर्नुभएको थियो । २०७७ चैतमा ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको उद्घाटन भएको थियो । जसलाई औपचारिक उद्घाटनको नाम दिइयो ।

यी तीन शीर्ष व्यक्तित्वहरुले आ-आफ्नो कार्यकालमा थरीथरी उद्घाटन गरेपनि राजधानीको प्यास भेटाउन भने सफल भएनन् । कहिले प्राकृतिक प्रकोप नै बाधक बन्यो, कहिले सरकारी संयन्त्र निकम्मा त कहिले निर्माण कम्पनीले बदमासी गर्‍याे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो पटकको शुभारम्भमा सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । उहाँले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाइ अगाडि बढाइने बताउनुभयो ।

सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिने जनाउँदै प्रधानमन्त्री दाहालले अर्को चरणमा नयाँ वितरण सञ्जालमार्फत् काठमाडौं उपत्यकाभित्र खानेपानी वितरण थालिने बताउनुभयो । उहाँले तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ताको धारामा वितरण गरिने व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभयो ।

उहाँको यो निर्देशन र प्रतिबद्धतासँगै मनसुन अवधिभर सुरूङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यता रहेको दुःख पनि पोख्नुभयो । बाह्रैमहिना पानी आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको दाबी यो पटकलाई पत्याइदिऊँ ! तर अर्को पटक फेरि पुनः शुभारम्भ गर्ने दिन आयो भने पनि आश्चर्यमा चाँही नपरौँ है ।

पहिलो पटक मेलम्चीको पानी पथान्तरण २०७७ असार २१ मा तत्कालीन प्रजीअ उमेश ढकालबाट भएको थियो । तर काठमाडौंमा पानी भने आउन पाएन । गेट भत्किएर दुई जनाको मृत्यु भयो ।

त्यसपछि २०७७ फागुन १० गते तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले मेलम्चीको हेडवर्क्स अम्बाथान पुगेर दोस्रो पटक पानी पथान्तरण गर्नुभएको थियो ।

२०७८ चैत २९ गते तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको हेडवर्क्स पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको उद्घाटन गर्नुभएको थियो । निर्वाचन आचारसंहिताका कारण सो उद्घाटनका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भने जान पाउनुभएको थिएन ।

२०७९ वैशाख ११ गते चौधरीले नै उपत्यका खानेपानी लिमिटेडको मीनभवनमा रहेको पानी ट्याङकीमा पुगेर आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले २०७९ मंसिर २३ गते चौधरीले वितरणको शुभारम्भ गर्नुभएको थियो ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने बताइएको छ । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *