Monday, March 1, 2021
More

    काठमाडौँ उपत्यकामा वायु प्रदूषण उच्च भएपछि आँखाका बिरामी बढे

    काठमाडौँ, शनिबार, ३ माघ २०७७ । काठमाडौँ उपत्यकाको हावामा प्रदूषणको मात्रा बढेसँगै आँखाका बिरामी पनि बढेका छन् ।

    प्रदूषणको मात्रा बढेपछि आँखा रातो हुने, चिलाउने, पोल्ने, सुन्निने जस्ता समस्या लिएर बिरामीहरु अस्पताल पुग्ने गरेको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर इन्दुप्रसाद ढुंगेलले बताउनुभयो ।

    उहाँकाअनुसार अहिले दैनिक तीन सय जनाको हाराहारीमा बिरामीहरु आँखा जाँचको लागि अस्पताल पुग्ने गरेका छन् । उनीहरुमध्ये धेरैमा प्रदूषणका कारण भएको समस्या देखिएको छ । दुई हप्ताअघि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको थियो । अहिले पनि देशका धेरै ठाउँमा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा रहेको छ ।

    प्रदूषणका कारण हुने समस्या धेरैजसोको सामान्य उपचारमा ठिक हुने भए पनि दैनिक ५-६ जना गम्भीर प्रकृतिको समस्या भएका बिरामी समेत आउने गरेका डाक्टर ढुङ्गेलले बताउनुभयो । प्रदूषणले आँखामा गम्भीर प्रकृतिको समस्या समेत देखिने हुँदा घरबाहिर निस्कँदा सावधानी अपनाउन डा. ढुङ्गेलले आग्रह गर्नुभयो ।

    प्रदूषण धेरै भएको बेलामा घरबाहिर ननिस्कने, घरबाहिर निस्कँदा धुलो छेक्ने चस्मा लगाउने, आँखा बारम्बार सफा गरिरहने जस्ता सावधानीका उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो ।

    आँखामा धुलो परेजस्तो हुने, बिझाउने, चिलाउने जस्ता नयाँ प्रकृतिको समस्या देखिए तत्काल आँखा अस्पताल जान पनि उहाँले आग्रह गर्नुभयो । आँखासम्बन्धी पुरानो समस्या भएकाहरुमा प्रदूषणले अझ बढी समस्या पार्न सक्ने भएकोले नियमित जाँच तथा औषधिको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here