काठमाडौं, आइतबार, २१ भाद्र २०७७ । काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्न प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिको छलफलमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञाको तयारी गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण उपत्यकामा ह्वात्तै बढेकाले दशैंसम्म नै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै भट्टले निषेधाज्ञाले उपत्यकाको अवस्था भयावह हुनबाट बचेको जानकारी दिनुभयो । उहाँले तीजको समयमा लगाइएको निषेधाज्ञाले प्रभावकारी काम गरेको दावी गर्नु भयो ।

दशैंमा मानिसको आवतजावत बढ्ने भएकाले कोरोना भाइरसको संक्रमण थप बढ्न सक्ने भन्दै उहाँले सहजिकरण गर्दै निषेधाज्ञालाई दशैंसम्म कायम राख्नुपर्नेमा जोड दिनु भएको छ ।

काठमाडौं उपत्यकामा अहिले दैनिक झण्डै २ हजार जना भित्रिएकाले उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्नेमा समिति बैठकमा जोड समेत दिनु भएको छ ।

साथै, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले नेपाल प्रहरीले सबैक्षेत्र हेर्नुपर्ने भएकाले नेपाली सेना परिचालन गर्नुपर्नेमा दिनुभयो ।

समिति बैठकमा उहाँले भन्नुभयो, ‘नाका ठप्प पार्न सकिएको छैन । ठप्प पार्ने हो भने भोकमरी हुन्छ । जति कडाई गरे पनि दिनमा दुई हजार मानिस आउँने गरेका छन । अहिले नेपाल प्रहरी खटाइएको छ, उहाँहरुले गर्न सकेन भन्ने कुरा होइन । तर, सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ । नाकाको जिम्मा नेपाली सेनालाई दिऔं ।’ उहाँले भन्नुभयो ।

सेना परिचालनका लागि कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) मा प्रस्तावसमेत पठाए पनि कुनै निर्णय नभएको जानकारी दिँदै उहाँले कोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने बताउनु भयो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौदेखि निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here