गोरखा, बिहिबार, २२ असोज २०७७ । कोरोनाका कारण लिगलिगे दौड प्रतियोगिता नहुने भएको छ । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने ‘लिगलिगे दौड’ प्रतियोगिता यस वर्ष नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले साझा सवाललाई जानकारी दिनुभयो ।

गोरखाको इतिहास जगेर्ना गर्न बि. स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियानले लिगलिगे दौड प्रतियोगिता संचालन गर्दै आएको थियो ।

लिगलिगे दौड प्रतियोगितामा स्थानीय मात्र नभएर देश विदेशबाट समेत भाग लिन आउने गर्दछन् अध्यक्ष रानाले भन्नुभयो ‘कोरोना महामारीको जोखिम रहेको अहिलेको अवस्थामा भिडभाड हुनेगरी दौड प्रतियोगिता संचालन गर्न उपयुक्त देखिएन त्यसैले यस वर्ष दौड प्रतियोगिता नगर्ने निर्णय गरेका छौं ।’

दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । दौडमा जो पहिले लिगलिगकोटसम्म पुग्छ उसलाई नै लिगलिगे राजा घोषणा गरिंदै आएको छ।

गोरखा र लमजुङको सीमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरू हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिने गर्दछ । गत वर्ष दसौं लिगलिगे दौड प्रतियोगिता २०७६ को उपाधि पर्वतका अनिष थापामगरले जितेका थिए ।

लिगलिगकोट चिनारी

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। लिगलिगकोट समुन्द्री सतहबाट करिब १,४३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ ।

गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो ।

यहाँ आजभन्दा ४६० वर्ष पहिले बि.स.१६१५ सम्म दौड जित्ने मानिस एक बर्षको लागि राजा बन्ने परम्पराको रहेको थियो । बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो ।

शाह वंशको अन्त्य पश्च्यात ४ सय ५२ वर्ष पछि २०६७ सालदेखि पुन: दौड प्रतियोगिता संचालन गर्न थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here