पोखरा, सोमबार, २२ भाद्र २०७७ । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा चार जिल्लाका ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा कास्कीका ३१ जना, नवलपरासी (बर्दघाट सूस्ता पूर्व) का १५ जना , गोरखाका १८ जना र तनहुँका ३ जना रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङ गरिएकाहरुको पिसिआर रिपोर्ट आईतवार राती पोजेटिभ आएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

थपिएका मध्ये सबैभन्दा धेरै गोरखा नगरपालिका वडा नम्बर ७ का छ जना महिला छ जना पुरुष सहित १२ जना रहेका छन् । गोरखा नगरपालिका भित्रकै वडा नम्बर ८ का एक पूरुष, छन् । बाँकी तीन जना संक्रमितको वडा भने नखुलेको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताउनु भयो ।

साथै, पालुङटार नगरपालिकामा एक महिला र एक पुरुष गरी दुई जनालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जना छन् । साथै, पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जनामध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) हुन् भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी रहेका छन् ।

यसैगरी, पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुष संक्रमित भएका छन् । नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१२ का ४० बर्षीय संक्रमित पुरुष स्वास्थ्यकर्मी हुन् ।

सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ५ सय ९८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here