काठमाडौँ, शनिबार, २४ असोज २०७७। विश्वब्यापी महामारीको रुपमा फैलिदैं गइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिक रूपमा मात्र आयोजना गरिने भएको छ ।

नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मक रूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिक रूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमिति गरिएको छ ।” बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुने कार्यक्रम तय भएको छ ।

विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको संख्या १०० जनामा सिमित तुल्याइने छ ।

अघिल्ला वर्षमा सेनानीसम्मलाई स-परिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताउनु भयो ।

उपस्थित हुने स्थानमा मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here