काठमाडौं, आइतबार, २८ असार २०७७ । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गर्नु भएको छ ।

मन्त्री गुरुङले कोरोना भाईरसका कारण विदेशबाट फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुने गरी सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने बताउनु भएको हो ।

गैर आवासीय नेपाली संघ, युकेद्धारा आज आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमापारेको प्रभाव’ विषयक ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले कोरोना भाईरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भईरहेको पनि बताउनु भयो ।

मन्त्री गुरुङले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई ‘उद्यमशीलता र उत्पादन’ मा जोडने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि स्मरण गराउनु भयो । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेतृहरुलाई आग्रह पनि गर्नु भयो ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आय आर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गर्नु भएको थियो ।

त्यसैगरी, गैर आवासीय नेपाली संघ, यूकेकी अध्यक्ष पुनम गुरुङसहित गैर-आवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरुले कोरोना भाईरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here