ओमराज गुरुङ, सिरानचोक-७ (कोल्हा आरुबोट) गोरखा, हाल: कतार

२०७७ साल जेठ २६ गते सोमबार ।

विश्वभर छरिएर रहेका सबै जना नेपाली दाजुभाइ, दिदिबहिनिहरु, इष्टमित्र र शुभचिन्तकहरुमा नयाँ बर्षको खुशियाली छाइ रहेका थिए ।

सबैजनाले सामाजिक संजालको माध्यमबाट विभिन्न कलाकारहरु र सङ्गितहरुले भरिएको भिडियो, अडियो र आ-आफ्नो तस्बिरहरु राखेर मिठो शब्दहरुले सजाइएको लेख रचनाहरु फेसबुकको भित्ता भरि “नयाँ बर्ष २०७७” को शुभकामना दिएर स्वागत गरि रहेका थिए ।

बैशाखको सुरुमा विश्वभर छरिएर रहेका नेपालीहरु नयाँ वर्षको खुशीयाली साटासाट गर्न व्यस्त थिए । मलाई भने त्यहीबेला ज्वरो आउने, खान मन नलाग्ने, जीउ शिथिल हुने र कमजोरी महसुस भयो

ज्यान यति थिलथिलो भएको थियो कि नयाँ वर्षको शुभकामना भन्नेहरुलाई ‘थ्याँक्यू’, ‘सेम टू यू’ सम्म भन्न सकिरहेको थिइनँ । कर्मभूमि कतारको एक दशकको बसाईमा यसरी पहिलो पटक बिरामी परेको थिएँ । यसअघि सामान्य रुघाखोकी लागेर पनि ओछ्यानमा ढल्न परेको थिएन । यो पालि किन यस्तो भयो, मलाई के हुन लाग्यो भनेर म निकै सोचमग्न भएँ ।

मनमा अनेकौं प्रश्नहरु उब्जिए । शारीरिक रुपमा केही समस्या भए पनि मैले कम्पनीको नियमित काम भने गरिरहेको थिएँ । भोलिपल्ट पनि मलाइ साँझपख फेरि हल्का ज्वरो आएको महसुुस भयो । त्यसपछि साथीसँग पारासिटामोल मागेर खाएँ, अनि आराम गरेँ । त्यसपपछि केहीदिन त मलाई ज्वरो अलिक कम भएजस्तो भयो । ज्यान पनि हल्का महसुस भयो । तर खान मन नलाग्ने, स्वाद थाहा नहुने, बान्ता होलाजस्तो हुने, थकाइ लाग्ने, निद्रा नलाग्ने र छटपटी हुन थाल्यो ।

पाँच, छ दिन यसैगरी बित्यो । तर पनि समस्या उस्तै रहेपछि मैले अब चाहिँ डाक्टरकोमा गएर खाना रुच्ने औषधी ल्याउँछु भन्ने सोच्दै रात बिताएँ । त्यो बेला चीनको वुहानबाट फैलिएको कोरोना भाइरस कोभिड १९ अन्य देशमा पनि महामारीको रुपमा फैलिएको समाचार आइरहेको थियो । कतारमा पनि केही मानिसमा सङ्क्रमण भइसकेको समाचार आएको थियो । तर त्यस दिनसम्म पनि म आफैंलाई सङ्क्रमण भयो होला भन्ने सोचेको थिइनँ ।

२० अप्रिल २०२० सोमबारको दिन कम्पनी सुपरभाइजरलाई फोन गरेँ । बिरामी भएकाले काममा आउन नसक्ने जानकारी गराएँ । त्यसपछि म बस्ने ठाउँ नजिकैको प्राइभेट अस्पतालमा जँचाउन गएँ ।

मेरो जाँच गरियो । ज्वरो निकै आएको रहेछ । डाक्टरले मलाई एक चक्की सिटामोल खान दिने सल्लाह दिँदै अस्पतालकै स्टार्फलाई बोलाएर अलग्गै कोठामा राख्नको लागि निर्देशन दिए । र त्यसपछि अर्को कोठामा लगेर राखियो ।

किन यसो गरियो, मलाई के भयो होला भनेर त्योबेला निकै आत्तिएँ । शरीरभरी चिटचिट पसिना आयो । छटपटी भयो । मनमा अनेक शंका र उपशंकाहरु उब्जिए । मनमा डरको कालो बादल मडारियो । हातखुट्टा र ज्यान डरले थरथरी काँपेको थियो । तै पनि डराएर मात्र के गर्नु आफूलाई सम्हाल्ने कोशिस गरेँ । अस्पतालका स्टार्फले मेरोबारेमा निकै कुरा सोधे । कम्पनी, पेशा, नम्बर, बसिरहेको ठाउँ लगायत विवरणहरु मागे ।

केही समयपछि निलो रङ्को लुगा लगाएका एक मानिसले अपहरणको शैलीमा मलाई उभिन भने । खै के के जाँच गरे । अनि एम्बुलेन्समा राखेँ । एम्बुलेन्समा पनि मेरो स्वास्थ्य जाँच गरियो ।

त्यसपछि भने मैले एम्बुलेन्समा रहेका स्वास्थ्यकर्मीलाई सोधें, ‘हामी कहाँ जाँदैछौं ?’

उनले भने, ‘हमाद अस्पताल ।’
अस्पतालको नाम सुन्दा म झस्कें । डर लाग्यो । उकुसमुकस भयो । अनेक सोच आउँदो रहेछ । परदेशको ठाउँमा के हुने हो ? के पो भयो होला ? यस्तै सोच्दासोच्दै म एम्बुलेन्स भित्रै रोएछु । एम्बुलेन्स कुदिरहँदा गाउँठाउँ, आफन्त र साथीभाइ, परदेशको बसाई सम्झेँ, अनि मनमनै भगवान सम्झेँ ।

अस्पतालमा कोरोना जाँच गर्न लगिएको रहेछ भन्ने त्यहाँ पुगेपछि थाहाँ पाएँ । त्यहाँ पनि लाइनमा राखियो । भिडभाड, अस्तव्यस्त थियो त्यो ठाउँ पनि । त्यो भिडमा नेपाली पनि केही थिए । उनीहरुलाई देख्दा थोरै भए पनि राहत मिल्यो । उनीहरुसँग कुराकानी गरें । सबैजना स्वाब टेस्टका लागि आएका रहेछन् । डरै भए पनि त्यो भिडमा आफ्नो नेपाली दाजुभाइ भेट्दा मन हलुको हुने रहेछ ।

दिनभरीको पखाईपछि २१ अप्रिलको मध्यरातमा परीक्षणका लागि नाम आयो । स्वाब निकालियो । अनि अरु स्वास्थ्यकर्मीले मेरो छातीको एक्सरे गर्न लगे । रिपोर्ट आयो । मेरो रिपोर्ट कोरोना पोजेटिभ रहेछ । रिपोर्ट पोजेटिभ आएको खबर सुन्दा त म छांगाबाट खसेझैं भएको थिएँ । सिङ्गो आकाश झरेर खसैझैं लाग्यो । सुरक्षाका उपाय अपनाउँदा पनि कसरी सङ्क्रमण भयो होला भन्ने कुरा मनमा खेलिरह्यो ।

जति डराउनु त्यसअघि डराएँ । त्यसपछि म यसलाई जित्छु डराउन्न भनेर मन बलियो बनाएँ । मन दह्रो भएर आयो । मलाई हमाद अस्पतालकै आइसोलेशन कक्षमा राखियो । त्यसपछि उपचार सुरु भयो । मलाई आइसोलेशनमा राखेर उपचार गर्न थालेपछि झन आत्मबल बढ्यो । व्यवस्थित थियो त्यहाँ । बिरामीलाई हेरचाह, खाजा, खाना, चिकित्सकको निगरानी र औषधि सही समयमा थियो । कतारले सबैलाई समान हिसाबले उपचार गरिरहेको थियो यो देख्दा मन खुशी भयो । अब केही हुन्न भनेर मनमनै रमाएँ ।

हमाद हस्पिटलबाट सनैया हस्पिटल हुँदै मिसाइद हस्पिटलमा झण्डै १० दिनको उपाचार र क्वरेण्टीनमा १५ दिन बसेँ । त्यसपछि म कोरोना भाइरसलाई जितेर कोठामा फर्किएँ ।

तर यो अबधिमा मैले धेरै कुराहरु नजिकैबाट जान्न, बुझ्न, सिक्न र अध्ययन गर्न अवसर पाएँ । धेरै साथीहरुले तपाईं त कोरोनालाई जितेर आउनुभयो, यसको लक्षण, उपचार पद्धति र औषधि के कस्तो दिने गरिन्थ्यो भनेर सोध्थे । कोरोना जितेर फर्केपछि मलाई धेरै साथीहरुले यसबारेमा जिज्ञासा राख्नुभयो । कतिले आफ्नो लक्षण सुनाउँदै उपाय सोध्नुभयो । कतिजना त आत्तिनु पनि भएको थियो ।

मैले साथीभाइलाई भन्थें, ‘कति पनि नआत्तिनु होला, हामी हतोत्साही हैन, धैर्य गर्नुपर्छ ।’

मेरो अनुभवमा यो भाइरस सङ्क्रमण भयो भन्दैमा मरिन्छ भनेर सोच्नु गलत हो ।

मानिसहरु डराएको देख्दा मलाई एकजना साथीको भनाइ अत्यन्तै सान्दर्भिक लाग्छ । ‘कोरोना भनेको के हो ?’ भन्दा उहाँ भन्नुहुन्थ्यो, ‘कोरोना भनेको डर र चिन्ता हो ।’ ‘जबसम्म हामीले डर र चिन्ता मनमा लिइरहन्छौं, तब हाम्रो आत्मबल पनि कमजोर हुन्छ र कोरोना बलियो हुन्छ ।’

साँच्चै हो रहेछ । त्यसैले भन्छु, नआत्तिनुहोस् । हामी जति कमजोर हुन्छौं, त्यति नै यसले हामीलाई उतिर तान्छ र हामी जति बलियो हुन्छौं, त्यति नै हामी यसलाई जित्न सक्छौं । अन्य रोग भएकाहरुले हो यो भाइरसँग अलिकति डराउनुपर्ने ।

नत्र सामान्य अवस्थाको मान्छेलाई यो भाइरसले जित्न सक्दैन, हामी नै जित्नेछौं । तर त्यसो भन्दैमा कोरोना केही होइन भन्ने होइन । तर डराएर के गर्नु, आत्मबल बलियो बनाउनुबाहेक यसको अर्को औषधि छैन । कुनै पनि रोग किन नहोस्, हामीले सानो कहिल्यै पनि नसोचौं । अहिलेको यो परिस्थितिमा हामी अत्यन्तै सचेत, सजक र सावधान हुनुपर्छ ।

हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नको लागि विशेषगरी सरसफाइमा ध्यान दिने, पौष्टिक आहारमा भिटामिन सीयुक्त खानाहरु बढी खाने, हरेक दिन केही समय योग तथा व्यायाम गर्ने, सकेसम्म तातोपानी पिउने, साथै बाफ लिने, समयमा सुत्ने, अनावश्यक भिडमा नजाने र दूरी कायम राख्ने लगायतका नियम अक्षरस पालना गरौं । यति गरियो भने कोरोना सङ्क्रमणबाट बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here