काठमाडौँ, मंगलबार, १६ भाद्र २०७७ । हामीकहाँ इतिहास लेखेर राख्ने चलन नभएकाले नेपालको इतिहासका धेरै कुरा थाहा पाउन सजिलो छैन । महामारीका इतिहासको हकमा पनि यो कुरा लागू हुन्छ ।महामारीको इतिहासको कुरा गर्दा नेपालको सबैभन्दा पहिलो महामारीको विवरण लिच्छविकालको पाइएको छ । तर त्यो पनि लिच्छविकालभन्दा निकैपछि १५औँ शताब्दीमा आएर मात्र वंशावलीमा उल्लेख भएको छ ।

गोपालराजवंशावलीमा लिच्छवि राजा सुपुष्पदेवको पालामा ठूलो महामारी आएको उल्लेख छ । उक्त महामारीको कारण ‘दुधे कर्कलो’ भएको उल्लेख गरेको पाइन्छ । रोचक कुरा के छ भने काठमाण्डूमा दुधे कर्कलो अहिले पनि धेरैले खानका लागि प्रयोग गर्दैनन् । सायद त्यसबेला महामारी ल्याउने कुरा भएकाले पो प्रयोग नगरेका हुन् कि !

सुपुष्पदेव कहिलेका राजा हुन् ?

सुपुष्पदेव कुन बेलाका राजा हुन् भन्ने थाहा पाउन अलि कठिन छ । वि.सं. ७९० को पशुपतिनाथमा जयदेवले लेखाएको शिलालेखमा चाहिँ लिच्छवि राजाहरूमा सुपुष्पको चर्चा छ । तर त्यहाँ महामारीको चर्चा छैन । गोपालराजवंशावलीमा चाहिँ महामारीको शान्तिका लागि बेथेको साग, रायोको साग र गोबरले नौ दिनसम्म अभिषेक गर्दा रोग निवारण भएको उल्लेख छ ।

नेपालको इतिहासको उठानदेखि मल्लकालसम्म हेर्दा मैले एक दर्जन महामारीको विवरण पाएँ । दुर्भाग्य नै भन्नुपर्छ त्यो पनि काठमाण्डूको मात्र उपलब्ध छ। बाहिरको केही विवरण पाउन सकिएको छैन । उपत्यकाभित्र लेखन संस्कृति थियो तर बाहिर कम लेखन संस्कृति भएकाले धेरै कुरा हामीले थाहा पाउन सक्दैनौँ । दुई हजार वर्षमा १२ वटा मात्र महामारी त आएनन् होला ।

अध्ययन

मैले मल्लकालको अन्त्य भएपछि आएका महामारीको विस्तृतमा अध्ययन गरिसकेको छैन । कोरोनाभाइरस महामारी सुरु भएयता मैले नेपालको महामारीकै अध्ययन गरिरहेको छु । मल्लकालयता गीर्वाणयुद्धविक्रमका पालामा आएको बिफरको त काठमाण्डू उपत्यकामा चर्चित नेवारी लोकगीत नै छ । मैले पनि आफूलाई अध्ययनको सीमामा राख्नुपर्छ। त्यसैले मैले मल्लकालसम्मको महामारीको अध्ययन गरेको हुँ । त्यसबेला पाइएका विवरणका आधारमा ती १२ वटा महामारी प्राकृतिक नै हुन्। तीमध्ये केही मुख्य महामारीको मात्र मैले यहाँ चर्चा गरेको छु ।

नेपाल

सुपुष्पदेवको पालापछि चाहिँ हामीले १,००० वर्षपछिको मात्र विवरण पाउँछौँ । त्यो भनेको वि.सं. १३८५ र ८६ को हो । त्यो महामारी फागुनदेखि भदौ (विसं १३८६) सम्म फैलिएको थियो । त्यसलाई ‘कनिमरक’ भनिएको छ । उक्त महामारीमा दैनिक १०० को हाराहारीमा मानिसहरू मरेको भनिएको छ । नेवारी भाषामा ‘कनि’को दुईवटा अर्थ हुन्छ, मकै र एउटा आँखा मात्र भएकी महिला ।

गोपालराजवंशावलीको अध्ययनका क्रममा धनवज्र वज्राचार्य (इतिहासकार) ले त ‘कनि’को अर्थ लगाउने आँट गर्नु भएन । कमलप्रकाश मल्ल (इतिहासकार) ले चाहिँ त्यसलाई अङ्ग्रेजीमा ‘मेज डेथ‘ वा ‘स्मल पोक्स’ भनेर अर्थ्याउन खोज्नु भएको छ । यद्यपि उहाँले दुवै अर्थमा प्रश्चवाचक चिह्न (?) दिनुभएको छ । तर त्यसको ३०० वर्षपछि मात्र भारतवर्ष अर्थात् अहिले भनिने गरिएको दक्षिण एशियामा मकै भित्रिएको पाइएकाले ‘कनि’को अर्थ मकै होइन भन्ने मेरो भनाइ छ ।
हुनत मैले पनि अहिलेसम्म त्यसको अर्थ लगाउन सकेको छैन ।

मैले त्यसबारे एउटा लेख लेखेपछि पुरुषोत्तमलोचन श्रेष्ठ (संस्कृतिविद्) ले ‘कनि’ भनेको एउटा मात्र आँखा भएकी महिला भनेर लेख्नुभयो । तर महामारी आएको बखतमा त्यस अर्थमा ‘कनि’ शब्द चलेको देखिँदैन।

अर्को कुरा कुनै पनि महामारी एउटा आँखा मात्र भएकी महिलालाई मात्रै लाग्ने गरेर त पक्कै पनि आउँदैन । त्यसैले ‘कनिमरक’को अस्तित्व छ तर त्यो कस्तो महामारी हो भन्ने अनुसन्धेय नै छ ।

राजाको मृत्यु

विभिन्न स्रोतका आधारमा वि.सं. १७२९ देखि १७९७ सम्मको ६८ वर्षभित्र चार पटक बिफरको महामारी आएको हामीले पाएका छौँ । वि.सं. १७२९ को महामारीबाट भक्तपुरका राजा जगत्प्रकाश मल्लको मृत्यु भयो । वि.सं. १७३६ को महामारीमा प्रताप मल्लकी छोरी र उनका छोराछोरीको निधन भएको थियो । त्यसबेला प्रताप मल्लका छोरा नृपेन्द्र गद्दीमा थिए । वि.सं. १७६३ को महामारीमा पाटनका राजा लोकप्रकाश मल्ल पनि बिते ।

काठमाण्डूका राजा भास्कर मल्ललाई पनि बिफर लाग्यो तर उनी बाँचे । उनको पछि वि.सं. १७७९ मा प्लेगबाट निधन भएको थियो । यी सबै विवरण नेपाली ऐतिहासिक स्रोतबाट हामीले थाहा पाउँछौँ । त्यस्तै वि.सं. १७९६ र ९७ मा पनि महामारी आएको पाइन्छ । त्यसको विवरण चाहिँ तिब्बत जान आएका युरोपियन इसाई धर्म प्रचारकहरूका लेखहरूबाट पाइन्छ । त्यसबेला ती पादरीहरू महामारीकै कारण भक्तपुरमा सात महिना रोकिएका थिए ।

सबैभन्दा ठूलो महामारी

नेपालमा आएको सबैभन्दा ठूलो महामारी चाहिँ प्लेग हो। त्यसबारे धेरै विवरण पनि पाइन्छन् । नेपालमा विसं १७७२ चैतदेखि विसं १७७९ भाद्रसम्म प्लेग आएको थियो । त्यो बेला काठमाण्डूका राजा भास्कर मल्लको पनि ज्यान गयो । उनलाई अहिले भनिएको जस्तै क्वारन्टीनमा राखिएको थियो । केही महिनापछि उनी त्यहाँबाट भागेर सहरतर्फ आउँदा रोगले च्यापेको विवरण पाइन्छ । उनको प्लेगकै कारण वि.सं. १७७९ मा प्राण गयो ।

त्यो बेलामा चाहिँ चौतारा अर्थात् प्रधानमन्त्री झगल ठकुर नै काठमाण्डूका ‘डिफ्याक्टो’ (वास्तविक) शासक थिए । उनले राख्न लगाएको विवरण अनुसार त्यो साढे ६ वर्षको महामारीमा १८,७१४ जनाको निधन भएको देखिन्छ । त्यसबेला कति जनसंख्या थियो भन्ने भन्न त गाह्रो छ । तर परम्परागत रूपमा काठमाण्डूमा २४,००० घर छन् भन्ने चलन थियो । त्यो सुरुमा बस्ती बसाउँदा होला पछि पक्कै बढेको हुनुपर्छ ।

त्यसको निकै पछि वि.सं. १८९६ मा भीमसेन थापाको पालामा काठमाण्डूमा जनसंख्या ३७,००० रहेछ । एक सय वर्षपछि ३७,००० रहेको काठमाण्डूमा १८,००० भन्दा बढीको ज्यान जानु भनेको धेरै नै भयो । त्यो बेला प्रमुख कुमारी पनि बितेको र अन्य दुईजना अतिरिक्त कुमारी पनि मरेको विवरण पाइन्छ। उसबेला चाररपाँच टोलमा कुमारी राख्ने चलन थियो ।

महामारीले ल्याएको परिवर्तन

अहिले पनि जातपात र छुवाछुत समाजमा कायमै देखिन्छ। त्यो बेला त झन् चर्कै थियो। तर त्यो महामारीले धेरै कुरा परिवर्तन गरिदिएको पाइन्छ । उसबेला कोही बितेपछि काजक्रियाको कडा नियम पक्कै थियो। तर महामारीले त्यसमा पनि परिवर्तन गरेको पाइन्छ । अघिल्ला महामारीको त धेरै विवरण उपलब्ध छैन ।

तर प्लेगका बेलामा भने आपत्काल भएकाले राजाज्ञामार्फत तत्काल काजक्रिया नगरी ४५ दिनसम्मको काम एकै दिनमा गराइएको थियो । त्यस्तै ‘माथिल्लो जात’को लासलाई ’तल्लो जात’ले छुनु हुँदैन भन्ने मान्यतामा पनि परिवर्तन आएको देखिन्छ । त्यसबेला ज्यापूले श्रेष्ठको पनि दाहसंस्कार चलाउने चलन चल्यो । त्यसबेलादेखि चलेको चलन अहिलेसम्म पनि केही श्रेष्ठहरूमा कामय छ । उनीहरूको दाहसंस्कार ‘गो’ भन्ने उपनाम भएका ज्यापूहरूले अहिले पनि गर्दैछन् । त्यो धार्मिक नियमजस्तो बन्यो ।

महामारीबाट आएको चेत

महामारीबाट नेपालले खासै चेतेको जस्तो लाग्दैन। यी महामारीको सरकारी रेकर्ड समेत छैन । मैले त मानिसहरूले व्यक्तिगत रूपमा टिपेर राखेका नोटहरूबाट सङ्कलन गरेको हुँ । सजग हुने कुरा त परै जाओस् । यो पल्ट चाहिँ मलाई अचम्म लागेको कुरा के हो भने पहिलेजस्तो महामारी हटाउन भनेर शान्तिस्वस्ति भएन । सायद यो धर्मनिरपेक्ष र कम्युनिस्ट सरकार भएर होला । पहिले त हरेक महामारीमा शान्तिस्वस्तिको चलन थियो भन्ने विवरण पाइन्छ ।

अर्को कुरा भारतमा पनि मन्दिरहरू त आंशिक खुला गरेर पूजाआजा भइरहेकै छ । नेपालमा चाहिँ देवस्थलहरू पनि बन्द छन्। यो मेरा लागि अलि फरक कुरा हो ।

(स्रोतः विविसी नेपाली सेवा- इतिहासकार महेशराज पन्त पन्तसँग बीबीसी संवाददाता विष्णु पोखरेलले गरेको कुराकानीमा आधारित । यो लेख पन्तले प्रयोग गर्ने शैलीकै भाषामा तयार पारिएको छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here