एजेन्सी, मंगलबार, ६ जेठ २०७७ । अमेरिकाको म्यासाचुसेट्सको क्याम्ब्रिजमा रहेको मोडर्ना कम्पनीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलो पटक मानिसमा परीक्षण गर्दा सकरात्मक प्रभाव देखिएको जनाएको छ ।

मोडर्नाले एक विज्ञप्ति निकालेर परीक्षणका क्रममा खोपले रोक प्रतिरोधात्मक क्षमतामा वृद्धि गरेको पाइएको जनाएको हो ।

न्युयोर्क टाइम्सका अनुसार पहिलो चरणमा ८ जना व्यक्तिमा परीक्षण गरिएको थियो । ती आठ जनामा दुई पटकसम्म भ्याक्सिन लगाइएको छ । कम्पनीले परीक्षणका क्रममा खोप सुरक्षित र प्रतिरोधात्मक क्षमता बढाउन सफल भएको दावी गरिएको छ । कम्पनीले मार्चदेखि मानिसमा परीक्षण सुरु गरेको थियो ।

खोप लगाइएका मानिसको रगतमा कोरोना भाइरस फैलिनबाट रोक्ने एन्टिबडी फेला परेको कम्पनीका वैज्ञानिकहरुले बताएका छन् । कम्पनीले चाँडो नै दोस्रो चरणको परीक्षण सुरु गर्ने जनाएको छ । दोस्रोमा ६ सय र तेस्रोमा एक हजार जनामा परीक्षण गर्ने तयारी गरिएको छ ।

अमेरिकी सरकारका निकायले कम्पनीलाई थप परीक्षणका लागि अनुमति पनि दिइसकेका छन् । सन् २०२१ को सुरुवातदेखि नै आम मानिसमा भ्याक्सिन उपलब्ध हुने कम्पनीले जनाएको छ । यो विज्ञप्ति जारी गरेपछि मोडर्ना कम्पनीको सेयर मूल्य आकाशिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here