गोरखा, बिहिबार, २९ साउन २०७७ । गोरखाको अजिरकोट गाउँपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा नगरी सवारी साधान सञ्चालन भएको भन्दै अनिश्चित कालका लागि सवारी संञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेका बेला पालिका भित्रबाट छुट्ने र बाहिरबाट आउने सवारी साधानहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी पालना गर्नुपर्ने सामाजिक दुरी, मास्क प्रयोग, सेनिटाइरजर प्रयोग लगायतका सावधानी नअपानाएको भन्दै यही साउन आज (२९ बिहिबार) देखि अर्को निर्णय नहुदासम्मका लागि पालिका भित्र सवारी आवातजावतमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष फणिन्द्र धितालको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका भित्रका बिभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्थाका कर्मचारीले बिदामा बस्नु पूर्व अनिबार्य स्वीकृति लिनुपर्ने निर्णय समेत गरेको छ । बिदा लिएर आफुखुशी आउजाउँ गर्दा कोरोना संक्रमण जोखिम हुने भएकाले गाउँपालिकाको कोरोना रोकथाम तथा उपचार समन्वय समितिबाट बिदा बस्नु अघि तथा अनिवार्य भ्रमण योजना तथा भ्रमण बिबरण पेश गर्नुपर्ने निर्णय गरेको हो ।

साथै, पालिका भित्र कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बढी मानिसको आतवजातव हुने स्थान, संघसंस्था, कार्यालय, पसल कलकारखना, बस्ती तथा समुदायमा रहदा मास्कको अनिबार्य प्रयोग गर्नुपर्ने बैठकले निर्णय गरेको छ । पालिका भित्रका व्यवसायीहरुले समेत सेवाप्रवाह गर्दा मास्क प्रयोग गर्न र सामाजिक तथा भौतिक दुरी कायम गर्न भनिएको छ ।

त्यसैगरी, गाउँपालिका भित्र प्रवेश गर्ने सवारी साधनको चेक जाँचका लागि भच्चेक बजारमा चेक प्वाइन्ट स्थापना गर्ने बैठकले निर्णय गरेको गाउँपालिकाले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here