पोखरा, शुक्रबार, १६ असोज २०७७ । पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसान बजार खुलेको छ । कृषकहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरु सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसंगको साझेदारीमा बजार सञ्चालनमा आएको हो ।

महानगरका प्रमुख मानबहादुर जिसीले आज शुक्रबार बजारको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जि सी ले कृषि क्षेत्र सशक्त पेशा र महत्वपूर्ण व्यवसाय भएको चर्चा गर्दै उपभोक्ताहरुको माग अनुसारका कृषि उपज उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । “स्थानीय तथा अर्गानिक उत्पादनप्रति जसरी उपभोक्ताहरुको चासो बढेको छ, त्यहि रुपमा अहिले कृषि उपज बजारमा आउन सकेको छैन” जिसीले भन्नुभयो “फेवा किसान बजारले उपभोक्ताको माग अनुसार वस्तुहरुको विक्री वितरण गर्न सक्नुपर्छ ।” किसानले उत्पादन गरेको वस्तु कृषकले नै विक्री गर्न पाउनुपर्ने उनको भनाई छ ।

पोखरामा दैनिक ३ करोड मुल्य बराबरको तरकारी खपत हुने गरेको दृष्टान्त सुनाउँदै प्रमुख मानबहादुर जिसीले करौडौँ रकम बाहिरिनबाट जोगाउनका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । “यहाँ उत्पादन हुने वस्तु सकेसम्म बाहिरबाट आयात नगर्ने महानगरको नीति हो” उहाँले भन्नुभयो ।

पोखराको लेखनाथस्थित तालचोक, विरौटा, काहुँखोला, बाटुलेचौर लगायतका स्थानमा यस किसिमका बजारहरु सञ्चालनमा आईसकेको जानकारी गराउदै उहाँले कृषक र उपभोक्तालाई सीधा व्यापारमा जोड्ने महानगरको उद्देस्य रहेको बताउनु भयो । प्रमुख मानबहादुर जि सी ले व्यवसायीक कृषकहरुले कृषि विमाको सुविधा प्रयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै महानगरका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकहरु विचौलीयाका कारण पीडित भएकाले यस्तो बजारको कल्पना गरिएको बताउनु भयो ।

पोखराको वडा नं १८, २३ र २४ का कृषकहरुलाई लक्षित गरी विक्री केन्द्र सञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो । उत्पादनले बजार नपाएको भनेर कृषकहरुले सधै गरिरहने गुनासो केहि हदसम्म सम्बोधन हुने कडरियाको विश्वास छ । कृषकले गरेको उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिने बताउनु भयो ।

पोखरा महानगरको लोगो सहितको प्याकेजिङ र ब्रान्डीङ गरी कृषि उपज विक्री गरिने उनको भनाई छ । कडरियाका अनुसार साना कृषकहरुसंग साझेदारी गरेर पोखराको चिप्लेढुङ्गास्थित श्री कम्पलेक्समा कृषि उपज पु¥याउने व्यवस्था महानगरले गर्नेछ । किसान बजारमा स्थानीय उत्पादनहरु, पोखरेली जेठोबुढो, विभिन्न तरकारी, विभिन्न व्यवसायिक फर्महरुबाट उत्पादिन उपभोग्य वस्तुहरु विक्रीका लागि राखिएका छन् ।

सोही अवसरमा फेवातालमा माछाका भुराहरु छोडीएको छ भने विभिन्न प्रजातीका १५ हजार माछाका भुरा तालमा छाडिएको हो । महानगर प्रमुख मानबहादुर जिसी, पोखरा महानगर वडा नं १८ का अध्यक्ष रण बहादुर थापा, वडा नं ६ का अध्यक्ष जगत पहारी, कृषि महाशाखा प्रमुख मनहर कडरिया लगायतले भुरा हरु तालमा छाडेका हुन् । महानगरले वर्षेनी माछाका भुराहरु तालमा छाड्ने गरेको छ ।

वडा नं १८ का अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन कृषक विष्णु दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here