Monday, August 2, 2021
More

    किर्तिमानी इटाली युरोकपको फाइनलमा

    spot_img
    spot_img

    एजेन्सी, बुधबार, २३ असार २०७८ । तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबल २०२० को फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले स्तब्ध पार्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ ।

    इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।

    वेम्बलीमा भएको खेलको निर्धारित ९० मिनेटको १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

    पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् ।

    स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

    पेनाल्टीमा खेल जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो ।

    खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । काउन्टरमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिदै उनले उत्कृष्ट गोल गरे ।

    तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान छिरेका उनले डानिल ओल्मोको पासमा गोल गरेका थिए ।

    यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडिको आफ्नै ३१ खेलमा अपराजित रहेको किर्तिमान यसै प्रतियोगिताबाट भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

    इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

    स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

    इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज (बुधबार) राति हुनेछ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    16 − 6 =