February 24, 2024
निर्वाचन गतिबिधि

गण्डकी प्रदेशबाट गठबन्धनका तीनै उम्मेदवार विजयी

गोरखा, बिहिबार, ११ माघ २०८० । राष्ट्रिय सभा सदस्यको निर्वाचतबाट गण्डकी प्रदेशमा तीनैजना सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बिहिबार पोखरामा सम्पन्न निर्वाचनबाट गठबन्धनका उम्मेद्वारहरु किरणबाबु श्रेष्ठ कांग्रेस, पदमबहादुर परियार कांग्रेस र मनरुपा शर्मा माओवादी निर्वाचित भएका हुन् ।

गोरखा घर भएका श्रेष्ठ खुल्लातर्फबाट बनेका उम्मेद्वार बन्नुभएको हो । उहाँले ३ हजार ८ सय ८ मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँलाई स्थानीय तहका १ सय जना प्रमुख तथा उपप्रमुख र प्रदेश सांसद ३६ जनाले मत दिएर निर्वाचित गराएका हुन् । उहाँका प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाएका छन् । पराजुलीलाई स्थानीय तहका ६९ जना प्रमुख तथा उपप्रमुखले मत दिएका थिए भने प्रदेश सभाका २२ जना सांसदले मत दिएका थिए ।

खुलातर्फ सत्ता गठबन्धनका १ जना स्थानीय जनप्रतिनिधीले भोट क्रस गरेर एमाले उम्मेदवारलाई मत दिएका थिए । राप्रपाबाट खुलातर्फ उम्मेदवार बनेका रोमबहादुर भण्डारीले २ जना प्रदेश सांसदको मात्र मत पाएका छन् । उहाँको मतभार १ सय ६ छ ।

त्यस्तै अपांगतर्फबाट निर्वाचित भएका नेपाली कांग्रेसका परियार तनहूँका हुन् । उहाँले ३ हजार ७ सय ७४ मतभार पाएका छन् । उहाँलाई स्थानीय तहका १ सय १ प्रमुख तथा उपप्रमुख र ३५ जना प्रदेश सांसदले मत दिएर विजयी बनाएका हुन् ।

परियारका प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाएका छन् । उहाँलाई स्थानीय तहका ६८ जना प्रमुख तथा उपप्रमुख र प्रदेशका २२ जना सांसदले मत दिएका थिए । निर्वाचन कार्यालयका अनुसार अपाङ्गतातर्फ ३ मत बदर भएको छ । अपांगता आन्दोलनबाट आएका पदम तनहुँ सदरमुकाम दमौलीको जलदेवी माविमा अध्यन गर्दागर्दै २०५१ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुन पुगेका थिए ।

उनी अहिले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको थियो । पोलियोका कारण देब्रे खुट्टा छोटो र सानो भएका परियारलाई कांग्रेसले अपाङ्गता कोटाबाट उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय लोकतान्त्रिक अपांगता महासंघको सदस्य छन् । अपाङ्गता भएका व्यक्तिका अधिकारका पक्षमा निरन्तर लागेका परियार पार्टी राजनीतिमा पनि उत्तिकै सक्रिय थिए ।

अपांगतासम्बन्धी विभिन्न संस्था स्थापना गर्न भूमिका खेलेका परियारले आफूलाई पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएर उचित मूल्याङ्कन गरेको बताउँछन् । ‘राष्ट्रिय सभामा मैले आफ्नो क्षेत्रका नागरिकको प्रतिनिधित्व गर्छु, मेरो बुताले भ्याएसम्म योगदान दिन्छु भनेर सोचेको छु’, उहाँले भन्नसुभयो।

त्यस्तै सत्ता गठबन्धनबाट महिलातर्फको उम्मेद्वार बनेर विजयी हुने मनरुपा शर्मा पर्वतकी हुन् । नेकपा माओवादी केन्द्रकी नेता शर्माले ३ हजार ६ सय ६० मतभार प्राप्त गर्नुभएको छ । शर्मालाई स्थानीय तहका प्रमुख तथा उपप्रमुखबाट ९५ र ३५ जना प्रदेश सभा सांसदले मतदान गरेका थिए ।

उहाँकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार प्राप्त गरेकी थिइन् । त्यस्तै अर्की प्रतिस्पर्धी राप्रपाकी गौमाया श्रेष्ठले १०६ मतभार पाइन् । एक प्रदेश सभा सदस्य र एक स्थानीय तहका जनप्रतिनिधिको गरी कूल ७२ मतभार बदर भएको थियो ।

एमालेकी देवकोटालाई स्थानीय तहका ७३ जना प्रमुख तथा उपप्रमुख र २२ जना प्रदेश सांसदले मत दिएका थिए । गण्डकीमा सत्ता गठबन्धनबाट १०१ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । जसमा ५ जनाले विपक्षी एमालेमा मतदान गरेको मत परिणाममा देखिन्छ ।

शर्मा २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएर लाग्नुभएको थियो । माओवादी भ्रातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीमा आवद्ध भएर लागेकी शर्मा त्यसयता निरन्तर माओवादी राजनीतिमा हुनुहुन्छ ।

त्यसपछि २०७० को दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकी शर्मा निर्वाचित हुन सक्नुभएन । फेरि २०७४ को निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेपनि त्यतिबेला पनि संसद प्रवेश गर्ने उहाँको चाहना पूरा भएन । माओवादीले निरन्तर प्रत्यक्ष वा समानुपातिक उम्मेदवार बनाएको शर्मालाई २०७९ सालको प्रतिनिधी सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनाएको थियो । त्यसपटक पनि संसद छिर्न नपाए पनि उहाँको यसपटक भने सपना पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *