February 24, 2024
समाचार समाज

गुरुङ संस्कृति अनुसार विवाह गर्न बेलायतीदेखि तनहुँ सम्म

तनहुँ, शनिबार, २३ मङ्सिर २०८० । बेलायत निवासी एक जोडीले गुरुङ संस्कार अनुसार विवाह गरेका छन् । लामो समयदेखिको प्रेमलाई मार्क टोवन्सेन्ड र र रुथ टोवन्सेन्डले तनहुँको भानु नगरपालिका– १२ स्थित मिर्लुङ, ओख्लेबाट विवाह गर्नु भएको हो ।

बेहुला मार्कले कछाड, स्टकोट, घलेक, भाङ्ग्रो अनि टाउकोमा फेटा बाँधेर पञ्चेबाजा बजाएर जन्ती लिएर दुलहीको घरमा पुग्नु भएको थियो । पुरोहितले भने अनुसार उहाँहरू विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह बन्धनमा बाँधिनु भएको थियो । लामा गुरुले दुलहा दुलहीलाई गुरुङ संस्कृति अनुसार स्वयंवर गर्ने, चुरा पोते लगाउने, सिन्दूर हाल्ने लगायतका कार्य गरी विधिपूर्वक लगनगाँठोमा बाँधिदिनु भएको थियो ।

वैवाहिक कार्यक्रम सकिएपछि रुथलाई माइतीघरबाट अन्माएर कर्म घर पठाइएको थियो । मार्कले रुथलाई ताम्दानीमा बोकाएर आफू बसेको घरमा विधिपूर्वक भित्राउनु भएको थियो । बेहुलीले परम्परागत गुरुङ पोसाक चोली, घलेक, फरिया लगाएर घुम्टो ओढ्नु भएको थियो । विवाहमा तीन हजार भन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो । गाउँलेलाई साँची राखी उहाँहरूले बुधवार विवाह गर्नु भएको थियो । स्थानीय गाउँले बेहुला र बेहुलीको पक्षमा बाँडिएका थिए । मार्कले सिउँदोमा सिन्दूर भरिदिए लामा गुरुले अब दुवै जना एक अर्काको सुख दुःखमा सहयात्री बनेर जीवन जिउने कसम खुवाउनुभयो । मार्क र रुथले पनि अग्नीलाई साक्षी दुवैले सँगै जिउने कसम खानुभयो ।

विवाहको चाँजोपाँजो ओख्ले गाउँ परिवारले मिलाएको हो । नेपालमा विभिन्न कार्यक्रम सञ्चालनका लागि आउने क्रममा नेपाली संस्कार संस्कृतिमा भिजेका मार्क र रुथले नेपाली संस्कृति अनुसार विवाह गर्ने सोच बनाएका थिए । नेपाली संस्कृति अनुसार नै विवाह गर्न चाहेको विवाहको संयोजन गरेका भानु नगरपालिका–१२ का पूर्व वडा अध्यक्ष विमल गुरुङ जानकारी दिनुभयो । गुरुङका अनुसार लामो समय नेपाल र नेपालीका संस्कार संस्कृतिसँग घुलमिल भएकाले आफ्नो प्रेमिकासँग नेपाली गुरुङ समुदायको संस्कार अनुसार वैवाहिक जीवनमा बाँधिन चाहेकाले यो कार्यक्रम गरिएको हो । रत्यौलीको गीत र पञ्चेबाजाको धुनमा बेहुला बेहुली नचाइएको थियो । सन् २००० देखि नेपालका विभिन्न ग्रामीण बस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएका मार्क काम गर्दै आउनु भएको छ । जन्ती बनेर जानु भएका भानु नगरपालिका–२ नारेश्वरटार निवासी सञ्चारकर्मी मनोज श्रेष्ठ विदेशीले नेपाली संस्कृतिलाई मन पराएर विवाह गर्दा स्थानीय बासिन्दामा आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गराएको बताउनुभयो ।

बिहे गर्नु अघि जिल्ला अदालत काठमाडौँमा कोट म्यारिज

उहाँहरूले नेपाली परम्परागत शैलीमा विवाह गर्नु अघि काठमाडौँ जिल्ला अदालतमा कोट म्यारिज गर्नु भएको थियो ।

एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मन्जुर गरेको निवेदनको आधारमा गत आइतबार (३ डिसेम्बर) काठमाडौँ जिल्ला अदालतमा कानुनी प्रक्रिया पुरा गरी विवाह बन्धनमा बाँधिनु भएको थियो । नेपाल र नेपाली संस्कार संस्कृति मन परेकोले नेपालमै विवाह गरेको मार्कले बताउनुभयो जिल्ला अदालतले विवाह दर्ताको प्रमाण पत्र प्रदान गरेको छ ।

उहाँहरू अविवाहित हुन् होइनन् भन्ने यकिन भएपछि मात्र अदालतले दर्ताको प्रमाण पत्र दिएको थियो । गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *