Thursday, February 25, 2021
More

    गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

    काठमाडौँ, आइतबार, ११ माघ २०७७ । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

    परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताउनु भएको छ । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताउनु भएको हो ।

    मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै उहाले भन्नुभयो, ‘संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।’

    कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताउनु भयो । विपद् र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उहाको भनाइ रहेको थियो ।

    राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उहाको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनु पर्ने समेत उहाले बताउनु भयो ।

    विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिनुभयो । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्ने उहाको भनाइ रहेको थियो ।

    त्यसैगरी, अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशनको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनिभूत छलफल गर्न सुझाव दिनुभयो ।

    विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशील संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताउदौ उहाले अधिवेशनमा संरक्षक परिषद्को सुझावअनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गर्दै मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिनुभयो । भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here