काठमाण्डौ ६ असार । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले गोदावरीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रको मन्त्री नेम्बाङद्धारा निरिक्षण गर्नु भएको छ ।

मन्त्री नेम्बाङले आयोजना प्रमुख तथा निर्माण कम्पनीका प्रतिनीधिहरुसंग भौतिक प्रगतिबारे जानकारी लिनुका साथै समयमै काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

उहाँसंगै अनुगमनमा सांसद नवराज सिल्वाल, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया र सहरी विकास सचिव मधुसुदन अधिकारी सहभागी रहनु भएको थियो ।

त्यसैगरी, मन्त्री बसन्तकुमार नेम्बाङले निर्माणाधिन मन्त्री निवासको निरिक्षण गर्नु भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिबार स्थलगत अनुगमन निरिक्षण गर्नु भएको हो ।
स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिनु भयो ।

लकडाउनका कारण तीन महिना काममा गतिरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रुपमै अघि बढाउनु पर्नेमा जोडदिनु भयो । ‘अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रुपमा अगाडी बढाउनु पर्छ । आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर कामलाई सामान्य रुपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस ।’ उहाँले भन्नुभयो ।

उहाँले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताउनु भयो । समस्या आए आफुले समन्वय गर्ने समेत उल्लेख गर्नु भयो ।

संघीय मन्त्री निवासको गतसाल असोजमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको थियो । पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैसैंपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरु समेत रहनेछन् ।

दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १ सय २४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनीधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।
दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । यहाँ सातवटा ब्लक रहेको छ । प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरु साडे दुई तलाको बन्नेछन् ।

संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रुपैयाँ (भ्याटसहित) रहेको छ । यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ । त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here