काठमाडौँ, मंगलबार, ६ असोज २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गर्नु भएको छ ।

प्रेस काउन्सिल नेपालको ५१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पुर्याउनु पर्ने समेत बताउनु भयो ।

‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु’ आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । सञ्चारक्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।’

कोरोना महामारीका कारण सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा समेत अविचलित रूपमा पेशाप्रतिको दायित्व बहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताउनु भयो । उहाँले आमसञ्चारको क्षेत्रमा देखिएका कमी कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गर्नु भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१ औँ वार्षिकोत्सव समारोहमा आज दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

उक्त पुरस्कारको राशि रु एक लाख ५१ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार गत वर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो ।

साथै, ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सेतोपाटी डटकमलाई प्रदान गरिएको छ । राष्ट्रपति भण्डारीले सेतोपाटी डटकमका तर्फबाट सम्पादक अमित ढकाललाई पुरस्कार प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि रु ५० हजार रुपैयाँ रहेको छ । उहाँले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोषले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि रु एक लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको रहेको छ ।

साथै, यसवर्षको १ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ । २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) लाई, १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) लाई, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) का कारणले यस वर्ष दुई पुरस्कार मात्र राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । आजै काउन्सिलले घोषणा गरेका अन्य पुरस्कार भने सञ्चारग्राममा आयोजित कार्यक्रममा प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here