February 24, 2024
संस्कृति

गोरखाका कुमाल समुदायमा ‘माघे सङ्क्रान्ति’ को रौनक

गोरखा, सोमबार, १ माघ २०८० । गोरखा नगरपालिका–१० छेपेटारकी ६७ बर्षिय धनाकुमारी कुमाललाई माघे सङ्क्रान्ति पर्व मनाउनका लागि सरसमानको जुटाउन गर्न भ्याइनभ्याई छ । माघी पर्व भनेर समेत चिनिने माघे सङ्क्रान्ति पर्वका लागि घरका परिवार मात्र होइन छिमेकी, इष्टमित्र र कुटुम्बलाई पनि पाहुना बोलाएकाले पनि मिठामिठा परिकारको जोहो गर्न उहाँ व्यस्त हुनुहुन्छ ।

‘‘यसैपनि घरमा सवै परिवार जम्मा हुने भएपछि रमाइलो त हुने नै भयो, उहाँले भन्नुभयो, ‘‘त्यसमाथि पनि हाम्रो समुदायले मनाउने पर्वहरुमध्ये माघी पर्व सवैभन्दा ठूलो पर्व भएकाले धुमधामका साथ मनाउनै प¥यो ।’’

बर्षभरी दुःख गरेर सवै खेतीबाली भित्र्याएर सकिएपछि पुस महिनामा पकाएर माघ महिनामा खाने पर्व पनि हो माघी पर्व । पुसमा पकाएको परिकार माघमा खाने भएकाले पुसमसान्तको साँझ मासको रोटी बनाउनका लागि उहाँलाई उत्तिकै चटारो छ ।

‘‘मासको रोटी तयार गर्दा मास कुटेर लामो समयसम्म भिजाएर मासको सवै बोक्रा छोडाएर सेतो हुने गरी सफा गरिन्छ, उहाँले भन्नुभयो, ‘‘सफा गरिएको मास ढिकीमा कुटेर तयार पार्ने र उक्त मासमा लसुन, बेसार लगायतका मसला हालेर रोटी (फुरौला) पकाउने गरिन्छ ।’’ कुमाल समुदायका लागि दशैं, तिहार भन्दापनि ठूलो पर्व माघे सङ्क्रान्ति हो ।

यहाँका कुमाल समुदायहरुले हरेक बर्ष माघी पर्व धुमधामका साथ मनाउने गर्दछन् । प्रकृति पूजक कुमाल जातिले माघे सङ्क्रान्ति मनाउनुको आफ्नै विशेषता र महत्व पनि रहेको छ ।

माघे सङ्क्रान्ति पर्वलाई कुमाल समुदायले मौलिक सँस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन् । यो समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्ष शुरुवातको रूपमा समेत मान्दै आएका छन् ।

माघी पर्वमा पुस महिनाको अन्त्य र माघ महिनाको सुरुवातको दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा मासको दाल, चामल, बेसार, घिउ मिसाइएको खिचडी बनाएर खाने प्रचलन पनि छ ।

माघीका दिन घरमा आउने पाहुनालाई मासको रोटी (फुरौला), सेल रोटी, सुँगुरको मासु, कुखुरा माछा, खुदौरो, घिउचाकु, भातको जाँड लगायतका परिकारले सत्कार गर्ने चलन आफुहरुको रहेको उहाँको भनाई छ ।

कुमाल समुदायका लागि अन्य पर्वहरुभन्दा माघी पर्वको छुट्टै रौनक हुने गरेको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७, बोर्लाङका दलवहादुर कुमालले बताउनुभयो । घरपरिवार जम्मा हुने, रमाइलो गर्ने, मिठामिठा परिकार खाएर रमाउने साथै परिवार, इष्टमित्र, कुलकुटुम्बहरु सवै भेटघाट गरी दुःख सुःखको कुराकानी साटासाट गर्ने अवसरका रुपमा पनि माघी पर्वलाई लिने गरिएको उहाँले बताउनुभयो ।

‘‘सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले नयाँ वर्ष शुरुवातको रूपमा मान्ने गर्दछन्, कुमालले भन्नुभयो, ‘‘ कुमाल जातीले माघे सङ्क्रान्ति पर्वलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिने गरेको पाइन्छ ।’’

माघे सङ्क्रान्तिको दिन विहान सवेरै बाबुआमा नभएका घरको मुलीले खोलामा गएर नुहाउने र घरमा आएर पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा समेत कुमाल समुदायमा छ । माघी पर्वमा मिठामिठा परिकार, कन्दमुल तरुल, पिडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने गरिएको उहाँले बताउनुभयो ।

कुमाल समुदायले माघी पर्वलाई कुलायन देवतालाई सम्झेर पितृ पुज्ने र छोरी कुटुम्बलाई समेत घरमा बोलाएर पुज्ने प्रचलन छ । ‘‘कुमाल समुदायका लागि दशै तिहार लगायतका अन्य चाडपर्वको त्यति धेरै महत्व हुँदैन, जति माघे संक्र्रान्ति पर्वको हुन्छ, कुमालले भन्नुभयो,‘‘माघी पर्वमा अनिवार्य जस्तै चेलीवेटी वोलाउने तथा आउने जाने पनि गर्दछन् ।’’

माघे संक्रान्ति पर्व खर्चिलो पर्व बन्दै गएकाले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि समस्या समेत हुने गरेको उहाँको भनाई छ । ‘‘माघी पर्वका बेला बिदेशमा भएकाहरु समेत सकभर घर फर्किएर परिवारसँग बसेर माघी पर्व मनाउन आउने गर्दछन्, कुमालले भन्नुभयो, ‘‘घरमा रहेका अन्य परिवारका सदस्यहरु पनि घरबाहिर रहेका परिवारको सदस्यको पखाईमा हुने गर्दछन् ।’’

माघे सङ्क्रान्ति पर्वमा दिन कुमाल समुदायले आफ्ना मौलिक भेषभुषा लगाएर हेम्फाइ नाँच नाच्ने चलन रहेको भएपनि अहिले विस्तारै हराउदै गएको उहाँले बताउनुभयो । कुमाल जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फाँटहरूमा बसोबास गरेको पाइन्छ । वि.सं.२०७८ को जनगणना अनुसार नेपालमा कुमाल जातिको जनसंख्या कुल एक लाख २९ हजार ७०२ रहेको छ ।

कुमाल जातिको मुख्य पेशा माटोको भॉडा बनाई बिक्रि गर्ने हो । त्यस्तै खोला, नदी, तलाउबाट माछामार्ने, खेतीपाती, पशुपालन पनि कुमाल समुदायको अन्य पेशाको रुपमा लिने गरिन्छ । कुमाल समुदायको बाक्लो बसोबास रहेका जिल्लाहरु मध्ये गोरखा जिल्ला पनि एक हो ।

गोरखाका जिल्लाको भीमसेन थापा गाउँपालिकाको क्यामुन्टार, सिमलटार, महादेवटार, घाटवेशी, गोरखा नगरपालिका छेपेटार, बाह्रकिलो, सिरानचोक गाउँपालिकाको चोरकोट, पालुङटार नगरपालिकाको च्याङ्ली गाइखुर, आरुघाट गाउँपालिका, सहिद लखन गाउँपालिका लगायतका क्षेत्रमा कुमाल समुदायको बाहुल्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *