May 18, 2024
पालिका विशेष

गोरखाको अजिरकोट गाउँपालिकाका किसानलाई भैँसीपालन तालिम

गोरखा, बुधबार, २४ माघ २०८० । गोरखाको अजिरकोट गाउँपालिकाले किसानहरुलाई निःशुल्क व्यावसायिक भैँसीपालन तालिम प्रदान गरेको छ ।

पालिका भित्र दुग्घ उत्पादन बृद्धिका लागि किसानहरुलाई व्यवसायिक बनाउदै लैजाने उद्देस्यका साथ तीनदिने भैँसीपालन सम्बन्धी व्यावसायिक तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा.रोशनराजबहादुर सिंहले जानकारी दिनुभयो ।

‘‘भैँसीपालन गर्दै आएका सवै वडाका अगुवा किसानहरुको छनोट गरी तालिम प्रदान गरिएको हो, उहाँले भन्नुभयो, ‘‘किसानहरुले भैँसीपालन गरी दुध उत्पादन गरेपनि भैँसीको स्याहारसुसार राम्रोसंग गर्न नजान्दा प्रर्याप्त लाभ लिन नसक्ने गरेकाले तालिम सञ्चालन गरिएको हो ।’’ तालिममा किसानहरुलाई नश्ल गुणस्तर पहिचान गर्ने विधि, पशुबस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहारा बनाउने तरिका लगायतका बिषयमा जानकारी गराइएको डा.सिंहको भनाई छ ।

‘‘किसानहरुले आफ्नो गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न नसक्दा समेत क्षति हुने व्यहोर्दै आउनु परेको छ, उहाँले भन्नुभयो,‘‘तालिममा रोगी पशु र निरोगी पशुको पहिचान गर्न समेत सिकाइएको छ ।’’त्यस्तै पशुबस्तुका लागि स्थानीय स्तरमा पाइने जडीवुटीका औषधीबाट गर्न सकिने प्राथामिक उपचारका साथै किसान आफैले जुकाको औषधीहरु खुवाउने तारिका र समयको बिषयमा समेत तालिममा जानकारी प्रदान गरिएको उहाँले बताउनुभयो ।

‘‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि ध्यान दिनुपर्छ भन्ने जानकारी तालिमले दिइएको छ, डा.सिंहले भन्नुभयो,‘‘पशुबस्तुका लागि खोपको महत्व र पशु बीमाको आवश्यकताको बारेमा समेत किसानलाई सचेतना प्रदान गरिएको छ ।’’पालिका भित्र पुर्खौलीदेखि नै भैँसीपालन गर्दै आएका अगुवा किसानहरुलाई तालिम दिइएको उहाँले बताउनुभयो ।

‘‘तालिममा सहभागी किसानहरुलाई प्रति किसान १० लिटर र १२ लिटरका गरी दुई वटा दुध बोक्ने क्यान, मिनिरल पाउडर र भैँसीलाई खुवाउनका लागि भिटामिन समेत उपलब्ध गराइएको छ, उहाँले भन्नुभयो, ‘‘किसानहरुका लागि तालिम अत्यन्तै लाभदायक भएको छ ।’’ किसानहरुलाई भैँसीलाई मिनिरल पाउडर तथा भिटामिन खुवाउदा दुधको मात्रा बढ्छ भन्ने बुझाउनका र नियमित खु्वाउने बानीको विकास गराउनका लागि पाउडर तथा भिटामिन उपलब्ध गराएको हो ।

तालिममा २३ जना भैँसीपालक किसानहरुको सहभागिता रहेको थियो । तालिम लिएका किसानहरुले धेरै जसोले अहिलेपनि दैनिक रुपमा भच्चेक बजारमा दुध ल्याएर बिक्री गर्दै आएका छन् । यहीँ माघ २१ गते आइतवारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *