गोरखा, गोरखाको अजिरकोट गाउँपालिकाले सार्बजनिक सुनुवाई सुरु गरेको छ । फागुन १८ गतेदेखि २२ गतेसम्म क्रमश वडा नं. १ देखि ५ सम्म हरेक दिन विहान ११ बजे गाउँ कार्यपालिकाको कार्यालयद्धारा आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयले प्रवाह गरेको सेवा र संचालन गरेको विकास निर्माणको कार्यमा नागरिकहरुको प्रतिकृया, राय सुझाव लिने, नागरिक र कार्यालयबीचको दोहोरो संवादलाई मजबुत पार्ने, जन गुनासोहरुलाई सार्वजनिक रुपमा नै उजागर गरी समस्याको समाधान गर्ने, टोल वस्तीमा रहेका समस्याहरुको निराकरण गर्ने, गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुको सेवा प्रवाह र विकास निर्माणमा केही कमी-कमजोरीहरु रहेमा नागरिक साथै सरोकारवालाहरुसंग छलफल गरी पृष्ठपोषण लिने सार्बजनिक सुनुवाई कार्यक्रमका मुल उद्देश्य रहेको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

सोही अनुसार अजिरकोट गाउँपालिका वडा नं. १ को कार्यालय घ्याच्चोकमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा ५५ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमा गाउँपालिकाका सवै शाखा प्रमुखहरुले विषयगत शाखाहरुले गरेका खर्चको विवरण पेश गर्नुका साथै कार्यक्रमहरुको बारेमा प्रस्तुत गर्नु भएको थियो ।

शिक्षा, कृषि, भेटनरी, स्वास्थ्य, प्राविधिक लगाएतका शाखा प्रमुखहरुले गाउँपालिकाले विषयगत क्षेत्रमा गरेका कृयाकलापहरुको बारेमा उपस्थित सरोकारवाला र नागरिकहरु समक्ष प्रस्तुत गर्नु भएको थियो । उपस्थित नागरिकहरुले समग्र गाउँपालिका र विशेष गरी घ्याच्चोकको विकासको वारेमा भएका कृयाकलापहरुको वारेमा जिज्ञासा राख्नुभएको थियो ।

शिक्षा क्षेत्रमा दरवन्दी मिलान, प्रस्ताबित विद्यालयहरुमा शिक्षक व्यवस्थापनका विषय उठान गरिएको थियो ।

त्यसैगरी, स्वास्थ्यको क्षेत्रमा कल्दुस्वारामा गाउँघर क्लिनिकको भौतिक पुर्वाधार विकास, क्वारेन्टाईनमा वसेकाहरुले दैनिक रु १७५ पाउने भनीएको रकम नपाएको विषय उठान गरीएको थियो ।

कृषि र भेटनरी अन्तर्गत कृषि प्राविधिक वडामा आवश्यक भएको विषय उठान गरिनुका साथै कृषि र पशु विकासका कार्यक्रमहरुको सुचना प्रकाशन भएको वारेमा वडाले सम्पुर्ण कृषकहरुलाई समयमै जानकारी दिने विषय उठान गरिएको थियो ।

प्राविधकतर्फ़ वडामा नै रहने गरी असिस्टेण्ट सव ईन्जिनियर खटाउने, प्रदेशले विनियोजन गरेमा आयोजनाहरुमा प्राविधिक सहयोग गाउँपालिकाबाट प्राप्त हुन नसकेको विषय उठान गरिएको थियो ।

सम्पुर्ण जन सरोकारसंग संवन्धित उठेका विषयहरुमा विषयगत शाखा प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाको विषयगत समितिका संयोजकहरु, गाउँपालिका अध्यक्षले जवाफ दिनुभएको थियो ।

वडामै रहने गरी असिस्टेण्ट सव ईन्जिनियर र पशु वा कृषी प्राविधिक एक हप्ता भित्र व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सहभागीहरुले गाउँपालिकाले आयोजना गरेको यस्ता कार्यक्रमहरुले सरकार र नागरिकबीचको संवन्धमा सुमधुर हुने कुरा व्यक्त गर्नुभयो ।