February 24, 2024
बिशेष

‘गोरखाको पन्द्रुङमा जनयुद्धकालिन इतिहास झल्काउने युद्ध सङग्राहलय बन्दै’

गोरखा, मंगलबार, १७ पौष २०८० । गोरखाको वारपाक सुलिकोट गाउँपालिका–८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको गाउँ हो । गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने जराङ डाँडा रहेको छ । करिव ८ दशमलव ६ रोपनी क्षेत्रफलमा फैलिएको त्यहीँ डाँडा अहिले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा शहीद स्मृति पार्कको रुपमा विकास भएको छ ।

ध्याम्पेसाल ताकुकोट सडकखण्डको छेवैमा पर्ने शहीद स्मृति पार्कलाई अव शहीद स्मृति पार्कमात्र नभएर युद्ध सङग्राहलयको रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पार्क निर्माणको काम सम्पन्न नहुँदै सयौ आन्तरिक तथा बाह्य पर्यटक दिलबहादुर रम्तेल स्मृति पार्कको अवलोकन गर्नका लागि त्यहाँ पुग्ने गरेका छन् ।

पार्क भित्र जनयुद्धकालिन समयमा तत्कालिन माओवादी जनमुक्ति सेनाले प्रयोग गरेका हातहतियार, सञ्चार सामग्री तथा ऐतिहासिक दस्तावेजहरु समेत प्रर्दशनीका लागि राख्न लागिएको उहाँले बताउनुभयो । ‘‘लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि महान जनयुद्धमा भएका वलिदानीलाई अध्ययन गर्न पाउने सङग्राहलयको रुपमा स्मृति पार्कलाई युद्ध सङग्राहलयको रुपमा विकास गर्न लागिएको छ, उहाँले भन्नुभयो,‘‘अव छिट्टै बाँकी रहेका काम सम्पन्न गरिनेछ ।’’

नयाँ पुस्तालाई युद्ध सम्बन्धि इतिहासको चित्रण गराउन, जनयुद्धको सुरुवात, युद्ध र शान्ति सम्झौताको चित्रण गराउन समेत युद्ध सङग्राहलयले भूमिका खेल्ने अध्यक्ष भट्टको भनाई छ । युद्ध सङग्राहलयमा जनयुद्धकालिन इतिहास अध्ययन गर्न भिडिओ कक्ष लगायत ई–लाइब्रेरी समेत राखिने छ भने तत्कालिन जनमुक्ति सेनाले प्रयोग गरेका ड्रेस, ड्रेस कोड, तत्कालिन समयमा सम्वाद गरिएका पत्रहरु पनि रहने छन् ।

जनयुद्धकालिन सवै इतिहासलाई समेट्ने गरी सामग्रीहरु खोजी गरी संकलन गरेर सङग्राहलयमा राख्ने तयारी गरिरहेका छौ, उहाँले भन्नभुयो, त्यसवाहेक पार्क भित्र पोखरी, भ्यूटावर समेत रहने छ ।’’ पार्कमा जनयुद्धका क्रममा ज्यान गुमाएका गोरखा जिल्लाका सवै शहीदहरुको नाम शिलालेखमा राखिएको छ ।

‘‘शहीद स्मृति पार्कमा घुम्न, हेर्न र अध्ययन गर्नका लागि जिल्ला भित्र र वाहिरबाट समेत पर्यटक यहाँ आउने गरेका छन्, उहाँले भन्नुभयो, ‘‘यसले जनयुद्धको इतिहासलाई जीवन्न बनाइराख्न मात्र नभएर वारपाक सुलिकोट गाउँपालिकामा भित्र पर्यटक भित्र्याउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।’’ पार्कभित्र टिकट काउन्टर निर्माण गरिएको छ भने पिकनिक स्पोर्ट निर्माण गर्ने योजना सहित ठुलाठुला चौरहरु समेत निर्माण गरिएको छ ।

पार्क भित्र प्रथम शहीद दिलबहादुर रम्तेलको शालिक समेत निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले जानकारी दिनुभयो । पार्कलाई युद्ध सङग्राहलयको रुपमा विकास गर्दै थप व्यवस्थापन गर्नका लागि गाउँपालिकाले गण्डकी प्रदेश संङग्राहलयका प्रतिनिधि लगायतका सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया समेत गरेको छ ।

‘‘पार्क निर्माण सम्पन्न गर्नका लागि करिव ८ करोड रुपैया लाग्ने अनुमान सहित डिपिआर तयार गरी निर्माण कार्य सुरु भएको थियो, इन्जिनियर गौतमले भन्नुभयो,‘‘अहिलेसम्म लगभग ५ करोड रुपैयाको हाराहारीमा पार्क निर्माण भइरहेको छ ।’’ पार्क निर्माण सम्पन्न भएपछि पार्कमा सहुलियत दरमा टिकट शुल्क व्यवस्था गरी पार्कको अवलोकन र युद्ध सङग्राहलयको अध्ययनको गर्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *