December 11, 2023
अर्थ व्यवसाय

गोरखाको बाँझो जमिनमा अकबरे खुर्सानी

गोरखा, मंगलबार, ५ मङ्सिर २०८० । गोरखा नगरपालिका–१३ देउराली स्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब १ सय ३ रोपनी जमिनमा एक किसानले अकबरे खुर्सानीको व्यवसायिक खेती गर्न सुरु गर्नुभएको छ । स्थानीय कृषक जीतवहादुर भट्टले सिरुघारी फाँडेर गएको माघ महिनादेखि खनजोत गरी व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गर्नुभएको हो ।

अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा छिटो र मनग्य आम्दानी हुने भएकाले बर्षौदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उहाँले बताउनुभयो । बार्षिक रुपमा एकलाख ५० हजार रुपैयामा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजार भन्दाबढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको किसान भट्टको भनाई छ ।

कालिका कृषक समुह फर्म दर्ता गरेर व्यवसायिक खेती गर्नुभएका भट्टले बेमौसमी अकबरे खुर्सानी खेती गर्नभएको हो । ‘‘अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएको छ, उहाँले भन्नुभयो, ‘‘आफैले नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ ।’’

करिव ४ लाख रुपैयाका लगानीमा सुरु गरेको अकवरे खुर्सानीको व्यवसायिक खेतीबाट बार्षिक ३७ लाख रुपैयाभन्दा बढी आम्दानी हुने अनुमान रहेको उहाँले बताउनुभयो । ‘‘बेर्ना लगाएको ५ महिनामा खुर्सानीको राम्रो उत्पादन सुरु हुन्छ, भट्टले भन्नुभयो, ‘‘उत्पादन सुरु भएपछि एउटै बोटले तीन बर्ष राम्रोसंग उत्पादन दिन्छ ।’’ उहाँले चार जनालाई फार्म रोजगारी समेत दिनुभएको छ ।

उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उहाँले बताउनुभयो । ‘प्रतिकिलो बजारमा न्युनतम दुईसय पचास रुपैयामा सजिलै बिक्री हुन्छ, भट्टले भन्नुभयो, ‘‘रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ ।’’

किसान भट्टले आफुले उत्पादन गरेको खुर्सानी चितवन स्थित अचार उद्योगहरुमा धेरै बिक्री हुने बताउनुभयो । त्यसवाहेक जिल्ला भित्रका गोरखा सदरमुकाम, काठमाण्डौको कालिमाटी, तनहुँको खैरेनीटार, पोखरा, लगायतका क्षेत्रमा पनि उत्पादित बिक्री हुने गर्दछ । उहाँले कृषि ज्ञानकेन्द्र गोरखाबाट प्राविधिक ल्याएर माटो परीक्षण गरी उक्त ठाउँमा अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *