गोरखा, शुक्रबार, २४ पुस २०७७ । पुर्खौदेखि संरक्षण गर्दै आएको वर, पिपल लगायत चौतारा बिकाश गर्ने नाममा मासिने क्रम दिन प्रतिदिन बढदै गइरहेको छ ।
पछिल्लो समय गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं. ४ का बाँणागाउँका सोम शाक्यले गतबर्ष मर्मत सम्भार गरेर सुन्दर बनाइएको आफ्नो जग्गा नजिकैको चौताराको बर, पिपल फाँडेर घर बनाउन सुरु गरे । उनकै छिमेकी विमल शाक्यले पनि चौताराको बरको हाँगा फाँडे र त्यसभन्दा तल घर निर्माण गर्न सुरु गरे ।

पुर्खौदेखि संरक्षण गर्दै आएको वर, पिपल लगायत चौतारा बिकाश गर्ने नाममा मासिने क्रम दिन प्रतिदिन अलि अलि गर्दै मास्दै गरेपछि असन्तुष्ट केही स्थानीयबासीले वडा कार्यालयमा उजुरी गरेका थिए । धार्मिक रुपमा लगायत अन्य कार्य गर्दा प्रयोग गर्ने चौतारा भनेको गाउँको साँस्कृतिक धरोहर हो तर, अहिले धमाधम चौतारा फाँड्न थालिएको छ’, स्थानीय राम बहादुर लामिछानेले भने, ‘व्यक्तिको घर बनाउन सार्वजनिक सम्पदा मास्न पाइँदैन भनेर भेलामा सबैले बिरोध गरे तर वडाअध्यक्षले केही कारबाही गरेनन्, क्षमादान गरे ।’ उनले गुनासो गरे । पुर्खौदेखि संरक्षण गर्दै आएको दैनिक रुपमा पुजा-आजा, शुभकार्य गर्दै आएको वर, पिपल लगायत चौतारा बिकाश गर्नेलाइ कानुनी दायरामा ल्याउन उनले माग समेत गरेका छन ।
घर बनाउन पर्ने भएकाले केही हाँगाहरु काट्न बाध्य भएको बिमल शाक्यले बताए । ‘त्यहाँभन्दा अन्यत्र घर बनाउने उपयुक्त जग्गा नभएर त्यहाँ घर बनाउनु पर्यो । अनि पछि क्षति हुनुभन्दा अहिले नै केही हाँगाहरु काटौँ भनेर काटिएको हो ।’ वडाअध्यक्षसँग अनुमति लिएर काटिएको उनले बताए ।
आफूले थोरैमात्र हाँगा काट्न भनेकामा शाक्यद्वयले फेदैदेखि काटेको वडाअध्यक्ष मदन शाक्यले बताए । ‘घरलाई असर गर्छ भनेर बुसकटिङ गर्न भनेको थिएँ, तर उहाँहरुले फेदैदेखि काट्नु भएछ’, उनले भने, ‘त्यस बिषयमा भेला गरेर उहाँहरुले गल्ती महशुस गरिसक्नु भएको छ ।’

प्राचिन सम्पदाको संरक्षण गरेर मात्र बिकाश निर्माण गर्नु पर्ने आजको आवस्यकता हो । र भएका सम्पदा पनि बिस्तारै बिस्तरै मासिन दिन नहुने स्थानीय बासिन्दाको भनाइ रहेको छ । अहिलेसम्म कम्तिमा पनि १२ देखि १४ वटासम्म चौतारा फाँडिएको छ । ‘कतै रोड खन्ने नाउँमा, कतै स्कूल बनाउने नाउँमा, कतै विजुलीको लाइन विस्तार गर्ने नाउँमा, कतै घर बनाउने नाउँमा चौतारा मास्ने काम भइरहेको छ’, ‘कतै चौतारोको नाम निशाना छैन, कतै गाउँको शोभा दिने झ्याम्म परेको चौतारो फाँडेर खुँडे बनाइएको छ । विकास निर्माण गर्न चौतारा नै किन फाँड्नुपर्यो ?’आम स्थानीयको गुनासो रहेको छ ।
साथै, २०५४ सालमा बरपिपलको चौतारो मासेर घर बनाएपछि साबिक धावा गा वि मा चौतारा फाँड्न सुरु गरिएको स्थानीयको भनाइ छ । चौतारा मासेर प्रभात मा वि को भवन निर्माण संरक्षण गरिएको छ । त्यस्तै आमभञ्ज्याङमा दुईवटा चौतारो मासेर दुईवटा बस्ती बसाइएको छ । राम्चेमा सार्वजनिक चौर मिचेर तीनवटा घर बनेका छन् भने गैराथोकमा सार्वजनिक चौरको आँप फाँडेर एकदुईजनाले व्यक्तिगत रुपमा लिलाम गरेका छन् ।