Friday, January 22, 2021
More

    गोरखाको शहिद लखनका ४६ वटा विद्यालयमा स्वास्थ्य सामग्री वितरण

    गोरखा, शुक्रबार, २४ पुस २०७७ । गोरखाको शहिद लखन गाउँपालिकाभरका सबै विद्यालयलाई स्वास्थ्य र सरसफाइ सामग्री वितरण गरेको छ ।

    गाउँपालिकाले ४६ सामुदायिक विद्यालय र २ वटा संस्थागत विद्यालयका लागि १/१ वटा थर्मल गन तथा सर्जिकल मास्क वितरण गरिएको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो । कोरोना संक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले ती सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

    ग्लोबल गोरखा समाज नामको संस्थाले गाउँपालिकालाई ३० थान थर्मल गन उपलब्ध गराएको थियो । त्यसमध्येको ४ थान स्वास्थ्य संस्थालाई र बाँकी २६ थान विद्यालयहरुलाई वितरण गरिएको खनालले बताउनुभयो । अपुग २२ थान भने गाउँपालिकाले खरिद गरी विद्यार्थी तथा शिक्षक कर्मचारीको ज्वरो नाप्नका लागि उपलब्ध गराईएको हो । यस्तै सबै विद्यालयलाई प्रति विद्यार्थी कम्तिमा २ वटाका दरले पुग्ने गरि सर्जिकल मास्क पनि वितरण गरिएको छ ।

    कोरोना भाइरसको सम्भावित संक्रमणबाट सुरक्षित रहँदै पठनपाठन कार्य अघि बढाउन सहयोग पुगोस भन्ने उदेश्यले स्वास्थ्य र सरसफाइ सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो । कोरोना संकटका कारण लामो समय बन्द रहेका शहिद लखन गाउँपालिकाका सबै विद्यालयहरु मंसिर दोस्रो साताबाट सञ्चालनमा आएका छन् ।

    कुनै संक्रमण वा आकस्मिक प्रकारको स्वास्थ्य समस्या देखिएमा वडाध्यक्ष नेतृत्वको समितिले विद्यालय बन्द गर्न पालिकालाई सिफारिस गर्ने निर्णय गाउँकार्यपालिका बैठकले गरिसकेको छ । समितिमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र वडाका स्वास्थ्य चौकी प्रमुख सदस्य छन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here