गोरखा, सोमबार, १२ माघ २०७७ । सरकारले आउँदो बैशाख १७ र २७ मा निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न भने रोकेको छ भने गोरखाको स्थानीय तह केन्द्रमा मतदाता नामावली सच्याउन पाईने भएको छ ।
तपाईको बिवरण गलत भएको छ, नाम फरक परेको छ, ठाउँ फरक छ, नागरिकता अनुसार बिवरण मिलेको छैन भने आफ्नो स्थानीय तहमा नै सच्याउन पाउने ब्यवस्था मिलाइएको छ ।
साथै, बिवरण ठिक भए नभएको पनि हेर्न सकिन्छ । यहि माघ १६ देखि १८ सम्म स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधि गर्न समय तोकेको छ । माघ १५ गते गोरखाका सबै स्थानीय तहको केन्द्रमा त्यहाँको पालिका भित्रका मतदाताको नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
‘मृत्यू भएकाको नाम हटाउने, बसाँई सरेर गरेकाहरुको हटाउने, दोहोरो कायम भएका वा झुटो बिवरण दिएकाहरुको हटाउने, त्रुटी भएकाहरुको संच्याउने गरी अद्यावधि हुँदैछ’ जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले भन्नुभयो ।
कार्यालयको तथ्याङ्क अनुसार दुई लाख सात सय ४६ जना मतदाता छन् । हरेक स्थानीय तहलाई त्यहाँका मतदाताको बिवरण पठाईनेछ । ‘गाउँपालिकाबाट एक, एक जना कर्मचारी बोलाएका छौँ, तालिम दिएर पठाउँछौँ’ जिल्ला निर्वाचन अधिकारी कोईरालाले भन्नुभयो ‘उहाँहरुले गाउँपालिकाको केन्द्रमा टाँस गर्नुहुन्छ त्यहाँबाट आएको नामावली अद्यावधि गर्न निर्वाचन आयोगमा पठाउँछौँ ।’ उहाँले भन्नुभयो ।