गोरखा, सोमबार, २९ असार २०७७। सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी सार्ने की हाल कार्यालय रहेको ठाउँ मैदानमा नै राख्ने भन्ने विषय अहिले चर्चामा रहेको छ । गत शुक्रबार बसेको कार्यपालिका बैठकमा अधिकाशं सदस्य चित्रेपोखरीमा केन्द्र तोक्न सहमत भएका छन् ।

सिरानचोक गाउँ कार्यपालिकाका २ जना सदस्यले साबिकको छोप्राक मैदानमा नै केन्द्र हुनुपर्ने भन्दै फरक मत प्रस्तुत गरेका छन् । नेकपाबाट निर्वाचित एक कार्यपालिका सदस्य भने तटस्थ देखिएका छन् ।

सिरानचोक गाउँपालिकाको १६ कार्यपालिका सदस्य मध्ये १३ चित्रेपोखरीको पक्षमा छन । अस्थायी रुपमा कार्यालय सञ्चालन भइरहेको छोप्राक मैदानमा केन्द्र हुनुपर्ने माग गर्दै सोही क्षेत्रका स्थानीयले आज सोमबार प्रर्दशन गरेका छन् ।

छोप्राकको पक्षमा रहेकाहरु गाउँपालिकाको केन्द्रका लागि आवश्यक जग्गा समेत उपलब्ध गराउन तयार रहेको भन्दै गाउँपालिका अध्यक्ष राजु गुरुङको ध्यानाकर्षण गराएका छन् । ‘छोप्राकमा ठाउँ नभएर चित्रेपोखरी लगिएको भन्ने कुरा बाहिर आयो । उक्त कुरा गतल हो । गाउँपालिकाले मागेको ठाउँमा जग्गा दिन यहाँका सबै जनता तयार छन्,’ छोप्राकमै केन्द्र राखिनुपर्छ भन्ने कुराको पक्षमा रहेका वडा नम्बर ४ का अध्यक्ष दिपक हमालले भन्नुभयो, ‘उहाँहरु लालपुजा बोकेर गाउँपालिका आउनुभएको थियो । अध्यक्षसँग आफ्नो कुरा राखेर जानु भएको छ ।’

उहाँहरुले चित्रेपोखरी केन्द्र लैजानुको कारण समेत मागेका थिए । प्रतिउत्तरमा गाउँपालिका अध्यक्ष गुरुङ्गले गाउँपालिकाको केन्द्र निर्धारणको अधिकार कार्यपालिका र अनुमोदनको काम सभाको भएको भन्दै सभाको निर्णय सबैले मान्नु पर्ने बताउनु भयो । ‘यो हाउसले निर्णय गर्ने कुरा हो, खाली मैले त समन्वय मात्र गरिदिने हो,’ उहाँले भन्नुभयो, ‘अधिकतम सहमतीमा सबैलाई मान्य हुने गरी केन्द्र निर्धारण गर्ने हाम्रो पहल जारी छ । जिम्मेवार जनप्रतिनिधि साथीहरुले हामीलाई सहयोग गर्नु हुनेछ ।’

दुई तिहाई बढि कार्यपालिका सदस्य चित्रेपोखरीमा केन्द्र निर्धारण गर्ने पक्षमा देखिएपछि त्यहाँ जग्गा खोजीको काम पनि सुरु भएको छ । सोही क्षेत्रका ३५ घरधुरी स्थानीयले प्रतिघरधुरी २ रोपनी जग्गा उपलब्ध गराउने लिखित कुबुलियत नामा गरिदिएका छन् ।

नेपाली काँग्रेस संसदिय दलका नेता जयकृष्ण ढकाल र नेकपा संसदिय दलकी उपनेता बिमला गुरुङ, नेकपा पार्टी प्रतिनिधी इश्वर गुरुङ, नेपाली काँग्रेस वडा नम्बर ५ का सभापती विष्णु पोखरेल, जनता समाजवादी पार्टीका प्रतिनिधि एवं वडा नम्बर ५ अध्यक्ष सन्तोष गुरुङ र स्थानीय बुद्धिजिविहरुका उपस्थितीमा गाउँपालिका लागि ७० रोपनी जग्गा दिने स्थानीयले निर्णय गर्नु भएको छ ।

कार्यपालिकामा २ तिहाई पुगेपनि गाउँसभामा प्रयाप्त मत नभएपछि केन्द्र निर्धारणको बिषयले चर्चा पाएको हो । ४३ सदस्सिय गाउँसभामा प्रस्ताव पारितका लागि २९ मत चाहिन्छ । अहिले चित्रेपोखरीको पक्षमा २६ मत मात्र छ । अन्य सदस्यको विश्वास लिनका लागि पहल भइरहेको काँग्रेस संसदिय दलका नेता ढकालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here