गोरखा, शुक्रबार, २३ साउन २०७७ । गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीबाट सेवा सुरु भएको छ । स्थानीय तहको चुनाव भएको झन्डै ३ वर्षपछि सिरानचोक गाउँपालिकाको स्थायी केन्द्र चित्रेपोखरी कायम भएको हो ।

सिरानचोक गाउँपालिकाले बुधबारदेखि पालिकाको सबै सेवा चित्रेपोखरीबाट दिन थालेको हो । साविक छोप्राकमा रहेको सबै कार्यालय अहिले चित्रेपोखरीमा सारी सकिएकोले सोही स्थानबाट सेवा दिन थालिएको पालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । ‘कार्यालयका केही सामाग्री ल्याउन बाँकी छ । सबै सामाग्री ल्याउने कोशिसमा छौ’ अध्यक्ष गुरुङले भन्नुभयो ।

आज शुक्रबार सम्ममा सबै कार्यालयका सामाग्री चित्रेपोखरीमा सारी सक्ने र आउदो आइतबार (साउन २५ ) गतेदेखि काम निरन्तर रुपमा संचालनमा आउने पालिकाले जनाएको छ ।

गत असार ३१ गते सम्पन्न गाउँसभाले पालिकाको केन्द्र चित्रेपोखरी सार्ने निर्णय भएपछि बिहिबारदेखि चित्रेपोखरीमा निर्णय बमोजिम सेवा सुरु गरिएको हो ।

चित्रेपोखारीमा हाललाई करिब २० वटा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ । केही महिना भित्रै अस्थायी संरचना तयार गरी पालिका भित्रका सर्वसाधारणहरुलाई सेवा दिने समेत पालिकाले जनाएको छ ।

पालिकाका लागि चित्रेपोखरीका स्थानियले करिब १०० रोपनी जमिन नि:शुल्क उपलब्ध गराउने सहमती भए पछि साविकको स्थानबाट कार्यालय सारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here