गोरखा, सोमबार, १२ माघ २०७७ । सरकारले आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । सोही अनुरुप गोरखामा पहिलो चरणमा कोरोना भाइरस विरुद्धको खोप १ हजार ५ सय जनाभन्दा धेरैलाई लगाइने भएको छ ।
आइतबार साँझसम्म तयार पारिएको तथ्यांकअनुसार पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या एक हजार पाँच सय ९० जना भन्दा धेरै रहेको स्वास्थ्य कार्यालयका महामारी सम्बन्धी सम्पर्क ब्यक्ति नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।
हालसम्म गोरखा अस्पताल, स्वास्थ्य कार्यालय गोरखा, ११ वटै स्थानीय तहका तथा नीजि स्वास्थ्य संस्थामा कार्यरत एक हजार पाँच सय ९० जना स्वास्थ्यकर्मीहरुको नाम मन्त्रालयमा पठाइएको उहाले बताउनु भयो । कार्यालयका अनुसार गोरखा नगरपालिकाका २ सय ५३ जना, पालुङटार नगरपालिकाका २ सय ११ जना, शहिद लखन गाउँपालिकाका १ सय १३, गण्डकी गाउँपालिकाका १ सय २७ जना, सिरानचोक गाउँपालिकाका १ सय ३४ जनाको नाम मन्त्रालय पठाइएको छ ।
साथै, अजिरकोट गाउँपालिकाका १ सय ५, वारपाक सुलिकोट गाउँपालिकाका १ सय २६ जनाको, भीमसेन थापा गाउँपालिकाका १ सय ८, आरुघाट गाऊँपालिकाका १ सय ३८, धार्चे गाउँपालिकाको १ सय ५ र चुमनुब्री गाउँपालिकाका १ सय १९ जना स्वास्थ्यकर्मीको नाम मन्त्रालयमा पठाइएको कोरोना फोकल पर्सन अर्यालले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनु पर्नेहरुलाई आईएमयु एप मार्फत नाम प्रविष्ट गर्न भनेको थियो । सोही अनुसार गोरखा अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुको विवरण गोरखा नगरपालिका अन्तर्गत नै समावेश गरिएको उहाले बताउनु भयो ।