गोरखा, बुधबार, ३१ बैशाख २०७७ । बिश्वब्यापी माहामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) को सम्भावित जोखिम न्यूनिकरणका लागि  गोरखा जिल्ला ‘सिल’ गरिएको छ ।

आज बुधवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकले यहि जेठ ५ गते सम्म बित्तिय संघ संस्था (बैंक, सहकारी) बिमा कम्पनी चल्न नदिने निर्णय गरेको हो ।

तत्काल उपचार आवश्यक परेको भनि स्वीकृत चिकित्सकबाट रिफर भएको बिरामी बोकेको एम्वुलेन्स, दुर्घटनामा परि तत्काल उपचार आवश्यक परेको घाइते बोकेको सवारी साधन, लास एवं मलामी, क्रियापुत्री सवार सवारी साधन, सुरक्षाकमी, स्वास्थ्यकर्मी, प्रेस पास भएको संचारकर्मी तथा वडाध्यक्ष वा सो भन्दा माथिका जनप्रतिनिधि वा सवारी साधनलाई बाहेक जिल्ला भित्र÷वाहिर गर्न रोक लगाउने निर्णय भएको छ ।

जिल्लामा प्रयाप्त खाद्यन्न मौज्जाद रहेको भन्दै ढुवानीमा समेत प्रतिबन्ध लगाइएको छ । केही दिन अघि सुचारु गरिएको बैंक, वित्तीय संस्था, विमा एवं सहकारीहरुको सेवा प्रवाह बन्द बैठकले निर्णय गरेको छ । बैंक, वित्तिय संस्था एंव विमा कम्पनीलाई इबैंकिङ मार्फत सेवा प्रवाह गर्न अनुरोध गरिएको छ । खाद्यान्न, तरकारी, पशुपंक्षीका दाना, औषधि, उपकरण तथा माछा मासुका पसल बाहेक अन्य पसल बन्द गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।

संघिय सरकारले बैंक तथा बित्तिय संस्था सञ्चालन गर्न दिने निर्णय गर्दा बैंकमा अत्याधिक भिँडभाड बढेपछि सरोकारवालाहरुको बैठकले तत्काल गोरखामा बित्तिय संस्था बन्द गरेर सुरक्षित हुनुपर्ने निश्कर्ष निकालेका थिए । ‘बिहिवारदेखि बैंकहरु पनि बन्द हुनेछ, इ–बैंकिङ बाट सेवा लिन भने सकिन्छ’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भन्नुभयो ।

बैठकले कार्यस्थल भन्दा बाहिर जानु नपर्ने र निर्माण सामाग्री प्रयाप्त भएका आयोजनालाई मात्र काम गर्न अनुरोध गरेको छ । बाहिरी जिल्लाबाट निर्माण सामाग्री ल्याउन समेत प्रतिबन्ध लगाइएको छ । गोरखामा यस अघि नै बाहिरी जिल्लाबाट तरकारी एवं फलफूल ल्याउन पनि प्रतिबन्ध लगाइसकिएको थियो । बैठकको निर्णय अटेर गरे प्रचलित कानून अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गोरखाले चेतावनी दिएको छ ।

देशमा केहीदिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बाहिरि जिल्लाबाट खाद्यान्न ढुवानीमा पनि रोक लगाइएको छ । अन्य जिल्लाबाट खाद्यान्न तकारी बोकेर भित्रिएका सवारी साधनप्रति जिल्लाबासीको चासो र त्रास अत्याधिक भएकाले सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो । यस अघि जारी गरेको सवारी पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here