February 24, 2024
प्रदेश विशेष

गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका राख्न माग

गोरखा, शुक्रबार, २७ पौष २०८० । गोरखा नगरपालिका गोरखाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका राख्न माग गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गोरखाले जिल्ला प्रसासन कार्यालय गोरखा मार्फत आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउदै गोरखा नगरपालिकाको नाम परिवर्तन गर्न माग गरेको हो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नामबाट स्थापित नगरपालिकालाई गोरखा नगरपालिका नामाकरण गरिएको भन्दै नाम संशोधन गर्नुपर्ने राप्रपा नेपालको माग छ । संघियता स्थापना भएसंगै तत्कालिन पृथ्वीनारायण नगरपालिकाको नाम परिवर्तन गरि गोरखा नगरपालिका राखिएको थियो । ‘‘प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा गोरखा नगरपालिकालाई पुनः पृथ्वीनारायण नगरपालिका कायम गर्न भनिएको छ ।’’ राप्रपा नेपाल गोरखाका अध्यक्ष गोपाल थापाले भन्नुभयो ।

पार्टीका जिल्ला अध्यक्ष थापाको नेतृत्वमा जिल्ला प्रसासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । ज्ञापन पत्रमा इतिहासको सम्मान गर्नका लागि पनि नगरपालिकाको नाम परिवर्तन गर्नुपर्ने उल्लेख छ ।

३०२ औं जन्मजन्यतीको तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिवार विहान नेपालमा हिन्दु राज्य पुर्नस्थापनाको कामना सहित गोरखकाली मन्दिरमा पूजाआजा तथा गोरखनाथ मन्दिरमा रोट चढाउने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।

त्यस्तै सदरमुकामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *