February 24, 2024
मनोरञ्जन

चलचित्र निर्माण तथा प्रदर्शनमा महानगर सकारात्मक

काठमाडौँ, शुक्रबार, ८ मङ्सिर २०८० । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझाबसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेख्नुभएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवद्र्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघलाई बोधार्थ राखेर चलचित्र जाँच समितिका अध्यक्षलाई पठाएको पत्रमा शाहले चार बुँदामा सुझाब दिँदै चलचित्र जाँच समितिको कार्यविधि, २०७४ कार्यान्वयनमा ल्याई चलचित्र जाँचसम्बन्धी कार्यलाई एकरूपता दिएर जवाफदेही तथा पारदर्शी बनाउन आग्रह गर्नुभएको छ ।

पत्रमा भनिएको छ, ‘चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्र जाँच समितिले ‘चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६’ को दफा ७ को उपदफा (३) बमोजिम ‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’ कार्यान्वयनमा ल्याई चलचित्र जाँचसम्बन्धी कार्यलाई एकरूपता दिई जवाफदेही र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइरहेको छ’, पत्रमा अगाडि भनिएको छ, ‘यस निकायले गर्दै आएको कार्यले चलचित्रबाट समाजमा पर्ने नकारात्मक प्रभाव कम गर्न गरेको कामका लागि म व्यक्तिगत तर्फ र यस महानगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’

बालेनले चलचित्रले समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेखनीय रहेको भन्दै चलचित्रको निर्माण तथा प्रदर्शनमा महानगरको सकारात्मक साथ रहनेसमेत बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *